
सिमरा । बाराको सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न तिन वर्ष अगाडी सडक विभागले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका मुख्य चोकमा ट्राफिक लाइट राख्यो ।
विभागले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका मुख्य चोकमा ट्राफिक लाइट राख्ने काम भए पनि अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको पथलैया, सिमरा, जितपूर, नितनपुर, पर्वानिपुर र पर्साको बिभिन्न स्थानमा लाइट जडान गरिएको थियो ।



प्रविधिमैत्री व्यवस्थापन नहुँदा भद्रगोल भएको छ, ट्राफिक लाईट नहुदाँ चालक र पैदल यात्रु दुबैलाई समस्या परेको सिमराका चालक दिलिप खड्काले बताए । उनले भने,‘पैदल यात्र असुरक्षित बन्दै गएको छ, व्यस्त बन्दै गएको बाराका सडकमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको कारण दुर्घटनामा सबभन्दा पीडित हुने पैदल यात्रु हुन्।’
सडकमा ट्राफिक लाइट त छन् तर प्रयोगमा आएको छैन । ट्राफिक लाइट जडान गरे पनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा यस क्षेत्रका सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।
ट्राफिक लाईट नबल्नुमा सडक बिभाग र ट्राफिक प्रहरी बिचको समन्वयको अभाव हो, जीपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी भने । ‘स्थानिय सरकारलाई कुनै किसिमको समस्या भयो वा समन्वयका निम्ति कहीँकतैबाट कुनै कुरा आएको छैन । ट्राफिक लाईटको आवश्यकता हामीले पनि महसुस गरेका छौँ । ट्राफिक लाईट सञ्चालनका निम्ती उपमहानगरको उपप्रमुखको हैसियतले म पहल गर्ने छु, कहाँ कुन निकायको कमिकम्जोरी भएको हो यसको बिषयमा उपमहानगर गम्भीर छ सञ्चालनका निम्ती पहल हुने छ ।’
जिल्ला ट्राफिक कार्यालय बाराले ट्राफिक प्रहरीहरू व्यवस्थापनमा खटिएका छन् । जिल्ला ट्राफिक कार्यालय बाराका अनुसार म्यानुअलभन्दा ट्राफिक लाइटले काम गर्दा सहज हुन्छ । ट्राफिक लाइट सञ्चालन भएसँगै च्यालेन्स त छ । यहाँका चालक र पैदल यात्रु सडकका सबै नियमसँग अभ्यस्त भने छैनन् त्यसैले सिकाउनको लागि पनि सुरुमा च्यालेन्स छ पछि बिस्तारै सहज हुने ट्राफिक कार्यालय बाराले जनाएको छ ।
विभागबाट लाइटसँग सम्बन्धित सिस्टम हामीलाई ह्यान्डओभर भएको छैन । सडक विभाग र सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ । हामी सिस्टममा काम गर्न तयारीमा छौँ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया, बाराका प्रवक्ता तथा प्रहरी नायव निरिक्षक संजय कुमार झाले भने । उनले ट्राफिक लाईट सञ्चालनमा आएमा ट्राफिक व्यवस्थापनमा निकै सहज हुने बताए ।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर हुदै देशभर दैनिक लाखै सवारी साधन यही मार्ग हुदै सडकमा गुड्छन, भारतबाट नेपाल प्रबेशको समेत प्रमुख मागको रुपमा रहेको यस कोरिडोरमा दैनिक लाखै सवारीसाधन गुड्ने भएतापनि ट्राफिक लाइट विहीन छ जस्तै मार ट्राफिक प्रहरी, चालक र पैदल यात्रुले खेप्नु परेको छ ।