भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार भएको आतंकवादी हमालमा २६ पर्यटकले ज्यान गुमाएका छन् । यो आतंकवादी हमाल भारतमा विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । मृत्यु हुनेमा केही विदेशी पर्यटक तथा नौसेनाका अधिकृत समेत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भनेका छन्, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।”

मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताए। गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएका छन् । उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन्।

अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पुर्याइएको छ, जसमा दुई जनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ । विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् ।

सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।

यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय