काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (मंगलबार) बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । अर्यालले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने ।

कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ । तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने-नहुने अन्योल छ । यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।

आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय