झन्डै तीन सातादेखि शिक्षकहरू राजधानीकेन्द्रित आन्दोलन गरिरहँदा बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेस गर्ने भनिएको बैठकमा शिक्षामन्त्री भने उपस्थित छैनन्।
शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाइसकेकाले उनी बैठकमा नगएकी हुन्। भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलका अनुसार विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि शिक्षामन्त्रीले राजीनामा दिएकी हुन्।



राजीनामाअघि आज दिउँसो प्रधानमन्त्रीलाई भेट्न मन्त्री भट्टराई बालुवाटार पुगेकी थिइन्। उनले सोही क्रममा राजीनामापत्र बुझाएकी हुन्।
त्यसो त मन्त्री भट्टराई राजीनामाअघि नै सरकारी क्वाटरबाट सरिसकेकी थिइन्। दिउँसो क्वाटर छाडेपछि भट्टराई बालुवाटार गएको उनको सचिवालयका शाखा अधिकृत प्रविनकुमार भट्टराईले जानकारी दिए। उनी आज मन्त्रालयमा पनि उपस्थित नभएको बताइएको छ।
विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने माग गर्दै देशभरिका शिक्षक २० दिनदेखि आन्दोलनमा छन्। तर, सरकारले शिक्षकका माग तत्कालै सम्बोधन हुन नसक्ने जनाउँदै आएको छ। शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि मन्त्रीले राजीनामा दिएको बुझिएको छ।






