बारामा भएको टिपर र कार ठोक्किँदा मृत्यू भएका दुबै जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परि मृत्यु भएका कार चालकको सनाखत भएको हो ।
सनाखत भएका चालक सर्लाही बरहथवा नगरपालिका–४ सुन्दरपुर चोहरवा बस्ने ५० बर्षीय जित नारायाण प्रसाद साह रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिए। यस्तै कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको यसअघिनै सनाखत भएको थियो ।



बारामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित प्रसुती अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ।






