जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको विभिन्न स्थानबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । तीन सय ६७ किलो एक सय ४० ग्राम अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको हो।
जीतपुरसिमरा उपमहानगरपालिका–ं३ बजनीबाट बिहीबार मध्यरातमा ना ५ ख २५०४ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाई राखेका तीन सय पाँच किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न तीनजना व्यक्ति समेतलाई नियन्त्रणमा लिन सफल भएको हो ।



पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउपालिका–४ बस्ने ३२ वर्षीय ट्रक चालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जीवन ठोकर र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन । त्यसैगरी बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउपालिका–४ स्थित खुटवाको एक घरबाट विक्री वितरण गर्ने उद्देश्य सहित लुकाईछिपाई राखेको दुई किलो एक सय ४० ग्राम लागुऔषध गाँजा सहित ३१ वर्षीय पवन कुमार साहलेलाई नियन्त्रणमा लिएको छ ।
यस्तै विशेष सूचनाकै आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले बाराको पचरौता नगरपालिका–१ मुसहरीटोलस्थित मकैबारी हुँदै नेपालबाट भारततर्फ लागुऔषध गाँजा निर्यात हुँदै गरेको सुचनाका आधारमा टाउकोमा बोकी ओसारपसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले ओसारपसार गर्ने भारतको बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।






