कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनीको संगै सुतेका व्यक्तिले चार सय रुपैयाँ चोरेको निहुँमा हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीले बिहीबार पत्रकार सम्मेलन गरेर हत्याका अभियुक्त बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई सार्वजनिक गरेको हो। बोहराले हत्या गरेको स्विकारेका प्रहरीको दावी छ। बोहराले मन्दिर परिसरको बरण्डामा राती सुतेका बेला कैनीले आफ्नो खल्तीबाट चार सय रुपैयाँ चोरेको झोंकमा हत्या गरेको बयान दिएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।



गत २७ चैतको बिहान मन्दिर परिसरमा कैनी मृत फेला परेका थिए। उनको टाउको र अनुहारमा ढुङ्गाले प्रहार गरेको गम्भीर चोट देखिएकाले हत्या भएको निस्कर्षसहित प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीका अनुसार २६ चैतको राती घटनास्थल दुर्गा मन्दिर परिसरको प्राङ्गणमा कैनी र आरोपित बोहरा सुतेका थिए।
‘सुतेको समयमा खल्तीमा रहेको चार सय रुपैयाँ हराएपछि बोहराले एउटै बरण्डामा सुतेका कैनीले चोरेको आशंका गरेछन्,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘पैसा चोरेको आशंकामा कैनीको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको बयान बोहराले दिएका छन्।’ प्रहरीका अनुसार मध्यराती १२ बजे निन्द्रा खुलेपछि खल्तीमा पैसा नभएको थाहा पाएको बयानमा भनेका छन्। हत्यापछि शव घिसारेर मन्दिर पछाडि फालेको बयान उनले दिएका इलाका प्रहरी कार्यालयले जनाएको छ।
राती एउटै बरण्डामा सुते पनि उनीहरुबीच चिनजान भने नरहेको खुलेको छ। ‘खल्तीको पैसा हराएपछि एउटै बरण्डामा सुतेको व्यक्तिले चोरेको होला भनेर हत्या गरेको अभियुक्तले स्विकारेका छन्,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘मदिराको नशामा हत्या भएको देखिन्छ।’
कैनी सडक पेटीमा बस्दै आएका थिए। मदिरा सेवन गरेका बोहरा पनि राती मन्दिरमा सुत्न गएका थिए। पूर्वसशस्त्र प्रहरीसमेत रहेका बोहरा अत्तरियाको बाह्रगाउँ होटेलमा काम गर्थे। नियमित मदिरा सेवन गर्ने उनी धनगढी र अत्तरियाका विभिन्न होटेलमा काम गर्दै छोड्दै गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।






