मकवानपुर ३ वैशाख । स्थानीय सरकारको लगानीमा बनेको नेपालकै पहिलो जिपलाइन सञ्चालनमा आएको छ । मकवानपुरको विकट गाउँपालिका कैलाशले पर्यटन प्रवर्धनका लागि आफ्नै लगानीमा निर्माण गरेको जिपलाईनको नयाँ वर्षको अवसर पारेर सोमबारबाट सञ्चालमा ल्याइएको हो ।

विकट तर अति नै सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकाको वडा नम्बर २ को बैकुण्ठ र कैलाश दुईवटा डाँडालाई जोड्ने गरी निर्माण गरिएको साहसिक खेल ‘बैकुण्ठ–कैलाश जिपलाइन’ औपचारिक रूपमा सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।

जिपलाइनको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल र वडा अध्यक्ष राजेन्द्र घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । १ हजार २०० मिटर लामो उक्त जिपलाइन गाउँपालिकाले आफ्नै बजेटबाट कुल उनका अनुसार जीपलाइन ८८ लाख ५६ हजार ७६१ रुपैयाँमा निर्माण गरिएको हो ।

जिपलाइनको उद्घाटन गर्दै पालिकाका अध्यक्ष मुक्तानले कैलाश गाउँपालिकाले साहसिक पर्यटनको क्षेत्रमा नयाँ आयाम सुरु गरेको बताए । उनले जिपलाइनले कैलाश गाउँपालिकाको वडा नम्बर २ मा रहेका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप सहयोग पु¥याउँने विश्वास व्यक्त गरे । ‘जिपलाइन आफैमा एउटा साहसिक पर्यटनको पूर्वाधार हो । जिपलाइनको मज्जा लिने छुट्टै खालका पर्यटकहरु हुन्छन् । जसलाई कैलाशको जिपलाइन आकर्षण बन्न सक्छ । साथसाथै जिपलाइनले यहाँ रहेका पर्यटनका अरु पूर्वाधारलाई पनि सहयोग पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं,’ उनले भने ।

गाउँपालिकाले यहाँका दुई प्रमुख धार्मिक एवं पर्यटकयीय स्थलहरु कैलाश र बैकुण्ठलाई जोड्ने गरी जीपलाइन निर्माण गरेको हो । जीपलाइन निर्माणपछि यहाँ घुम्न आउँने पर्यटकले दुई फरक स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुम्न सहजता हुनुका साथै साहासिक पर्यटनको मजा लिन सक्ने अध्यक्ष मोक्तानले बताए । साहासिक पर्यटन गर्न रुचाउँने पर्यटकहरुका लागि जीपलाइनले थप आकर्षीत गर्ने गाउँपालिकाका अध्यक्ष मुक्तानको विश्वास छ । गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले पालिकासँग पर्याप्त आन्तरिक आयस्रोत नभएपनि इच्छाशक्तिका कारण नै जिपलाइन निर्माण गर्न सम्भव भएको बताए । उनले जिपलाइनले पालिकाको आर्थिक आम्दानी बढाउन र पहिचान दिलाउन टेवा पुर्याउने दावी गरे ।

यता जिप लाइन सञ्चालन भएको वडाका वडा अध्यक्ष राजेन्द्र घिसिङले नयाँ वर्षको अवसर पारेर जिपलाइन सञ्चालनमा ल्याइएपनि टिकट घर निर्माण, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापन लगायतका केहि काम बाँकी रहेको जानकारी दिए । उनले ती बिषयलाई चाडोभन्दा चाडो टुङ्याएर अघी बढ्ने योजना रहेको बताए । वडा अध्यक्ष घिसिङले जिपलाईन रहेको बैकुण्ठ र कैलाशको पर्यटन प्रवर्धनका लागि पालिकाले होमस्टे सञ्चालनको तयारी गरिरहेको पनि जानकारी दिए । उनका अनुसार पालिकाले यहाँका स्थानीयलाई होमस्ट सञ्चालनका तालिमका साथै होमस्टे सञ्चालन भइरहेका स्थानहरुको अवलोकन भ्रमण समेत गराएको छ ।

धादिङको रोराङ बेनीघाट गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठ कैलाश क्षेत्रमा पुग्न मकवानपुरको थाहानगर र मनहरी बजारबाट करिब ३३ किलोमिटरको यात्रा तय गर्नुपर्छ । साहासिक पर्यटन जीपलाइनसँगै बैकुण्ठमा घुम्नका लागि डाँफे मुनाल पार्क, डम्फूपार्क, विष्णुकुण्डको निर्माण गरिएको छ भने करिब ४ सय वर्षअघिको सतीघाट संरक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय