उदयपुर। स्थापन भएको १२ वर्षपछि इलाका प्रशासन कार्यालय कटारी उदयपुरले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।
स्थापनाकालदेखि भाडामा लिएको कार्यालयबाट सेवा दिदैँ आएको इलाका प्रशासन कार्यालय कटारीले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको हो ।



इलाका प्रशासन कार्यालय कटारीका प्रमुख कोपिला राईले संघीय सरकारको गृह मन्त्रालय अन्तर्गत ५ करोड ६३ लाख २० हजार ९८१ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण सम्पन्न भएको सो भवनबाट सेवा दिन सुरु गरिएको जानकारी दिइन् ।
मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि वानेश्वर काठमाडौंले उक्त भवन निर्माण गरेको हो । प्रमुख राईले भनिन्, ‘उद्घाट यही आउने वैशाख महिनामा गर्ने गरी मन्त्रालयमा कुरा गरिरहेको छु, उद्घाटनभन्दा अगाडी नै भवनमा सेवाग्राहीको लागि सेवा दिन सुरु गरेका छौँ ।’
उदयपुर जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा अवस्थित उक्त कार्यालयबाट जिल्लाको पश्चिमी भेगका सेवाग्राहीहरूलाई प्रशासनिक सेवा दिइँदै आएको थियो ।
हाल इलाका प्रशासन कार्यालयले कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । राहदानी, जिल्ला प्रशासनमा दर्ता हुने विभिन्न संघ संस्थाको नविकरण, नागरिकता वितरण, सिफारिस लगायतका सेवा दिँदै आएको प्रमुख राईको भनाइ छ ।






