मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् ।
गएराती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।



हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले बताए । सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।
अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् । ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरका अधिकृतहरु बताउँछन् ।
६० प्रहरी परिचालन, विशेष अनुसन्धान टोली सक्रिय
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काको निर्देशनमा ६० जना प्रहरी परिचालन गरिएको छ। खोजी अभियानमा ईलाका प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर सविनबाबु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं संलग्न छन्।
घटनाले प्रहरी सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै मकवानपुर प्रहरीले लागुऔषध कारोबार नियन्त्रणमा थप कडाइ गर्ने जनाएको छ। फरार आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
आरोपीहरुको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् । लागुऔषध कारोबारीको खोजीमा ६० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले जानकारी दिए ।






