आउँदो ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै निजगढको गौरीशंकर कलेजमा राजनीतिक चहलपहल बढेको छ ।

विद्यार्थी संगठनहरु एकल रुपमा चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरु विद्यार्थीहरुमाझ आफ्ना चुनावी प्रतिवद्धताहरु राख्दै भोट माग्न व्यस्त हुन थालेका छन् । कतिपय उम्मेद्वारहरु क्याम्पसमा उपस्थित भएर त, कतिपय उम्मेदवारहरु विद्यार्थीको घर तथा डेरामा पुगेर मत माग्न व्यस्त छन् ।

स्ववियु चुनावको लागि आआफ्ना प्रतिवद्धताहरु लिएर उम्मेद्वाररुमात्र होइन, विद्यार्थी संगठनका नेताहरु समेत विद्यार्थी भेटघाट, अन्तरक्रिया तथा भोट माग्न व्यस्त छन् । तर, अधिकांश विद्यार्थीहरु भने स्ववियुको बारेमा अनविज्ञ छन् ।

न उनीहरुलाई चासो छ, न त चिन्ता नै । विद्यार्थी संगठनका नेताकार्यकर्ताको सक्रियताले क्याम्पसमा चुनाव हुँदैछ भन्ने थाहा छ तर स्ववियुबारे धेरै विद्यार्थीलाई मतलब छैन । उम्मेद्वारहरु र नेताहरुलाई चुनाव लागेपनि विद्यार्थीहरुलाई स्ववियु चुनावले छुन नसकेको छैन ।

पहिलो पटक स्ववियुको निर्वाचन भएका कारण विद्यार्थीहरुमा स्ववियु निर्वाचनको उत्साह हुनुपर्ने तर यहाँ भने फरक देखिएको विद्यार्थी संगठनका नेताहरु बताउँछन् । विद्यार्थी संगठनहरुले समेत विद्यार्थीमाझ स्ववियुको बारेमा पर्याप्त जानकारी दिने कार्यक्रम गर्न नसकेको स्वीकार्छन् ।

३ वटा विद्यार्थी संगठनकोतर्फबाट मनोनय पत्र दाखिला

मंगलबार निजगढको गौरीशंकर कलेजमा विद्यार्थीहरुले मनोनय पत्र दर्ता गरेका छन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संगठन (नेविसंघ) र अखिल क्रान्तिकारीहरुले जुलुससहित क्याम्पस कार्यालयमा पुगेर प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनय पत्र दर्ता गरेका हुन ।

विद्यार्थीहरुसंगै तीनका माउ पार्टीका स्थानीय नेता कार्यकर्ता पनि क्याम्पस पुगेका थिए । निर्वाचन समितिका संयोजक गोविन्द अधिकारीका अनुसार अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयन गरेका हुन । क्याम्पसको स्ववियुमा अध्यक्षसहित ८ जना प्रतक्ष्य र उपाध्यक्ष सहित ७ जना समानुपातिकतर्फबाट चुनिने छ ।

अनेरास्ववियुले बालकृष्ण हुमागाई नेतृत्वको प्यानललाई मैदानमा उतारेको प्यानलबाट प्रेक्षा उप्रेती सचिव, ललिता सापकोटा कोषाध्यक्ष र सदस्यमा लसाङ्गडोल्मा मुक्तान, समिता श्रेष्ठ, समिर तामाङ्ग, नेहा कुमर र नेहाकुमारी ठाकुर उम्मेदवार बनेका छन । समानुपातिकतर्फ भने अनेरास्ववियुले निशान्त गौतम, मोनिका घिमिरे, सागर दहाल, कैलास दहाल, समिना लामा र सुहाना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गरेपछि अनेरास्ववियुबाट सभापतीका उम्मेदवार हुमागाईले आफ्नो उम्मेदवारी विद्यार्थीहरुको हकहितको लागि भएको बताए ।

नेविसंघले भने धावा लामा बोम्जनको नेतृत्वमा प्यानल बनाएको छ । सो प्यानलबाट सचिवमा प्रवना लामा, कोषाध्यक्षमा रामकुमार कुवर र सदस्यहरुमा रिया सिग्देल, विश्वास सुवार बजगाई, मोनिकाकुमारी कुवर र रोहित साह कानु छन ।

यस्तै अखिल क्रान्तिकारीबाट उज्जल प्रसाई नेतृत्वको प्यानलले मनोनय दर्ता गरेको हो । उक्त प्यानलबाट सचिवमा विशाल तिमल्सिना र कोषाध्यक्षमा स्मृति खरेलले उम्मेदवारी दिएका छन ।

बारा जिल्लामा रहेका ७ वटा सामुदायिक कलेजहरु मध्ये गौरीशंकरमा मात्रै यो वर्ष पहिलो पटक स्ववियुको निर्वाचन हुनलागेको हो । जिल्लाको कलैयामा रामाराजा क्याम्पस, सिमरामा सिमरा कलेज, डुमरवानामा डुमरवाना बहुमुखी क्याम्पस, कोल्हबी नगरपालिकाको सपहीमा सपही कलेज, महागढीमाई नगरपालिकामा बरियारपुर क्याम्पस र जीतपुरमा बकुलिया क्याम्पस छन् ।

यो वर्ष त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

यस्तो छ स्ववियु चुनाव सम्बन्धी व्यवस्था

आउँदो ५ चैतमा हुने स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । यसअनुसार स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।

दुई सय विद्यार्थी बराबर ११ जनाको कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भए २१ जनाको कार्यसमिति हुनेछन् ।

त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । उमेरहद २८ वर्ष तोकिएकाले यो निर्वाचनमा १८ चैत २०५१ भन्दा पछि जन्मेका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउनेछन् । पछिल्लो पटक २०७३ सालमा यही प्रणाली (मिश्रित) मा काठमाडौं उपत्यकाका ९ र बाहिरका १७ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय