संसद् बैठक प्रभावकारी बनाउन, समसामयिक राजनीति र स्ववियु निर्वाचनका कारण अभियान स्थगित भएको नेताहरूको भनाइ

प्रमुख प्रतिपक्षी दल माओवादीले ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ स्थगित गरेको छ । गत १२ फागुनमा झापाबाट सुरु भएको अभियान शनिबार रौतहटमा पुगेपछि उसले स्थगित गरेको हो । पदाधिकारी बैठकका लागि माओवादी नेताहरू काठमाडौं फर्किएका छन् ।

राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै अभियान स्थगित गरेको महासचिव देव गुरुङले बताए । ‘राष्ट्रिय राजनीतिमा जुन परिदृश्य देखिँदै छ, त्यसका लागि अहिलेको अभियानले मात्रै नपुग्ने भयो । विकसित घटनाक्रमबारे सरकार रमिता हेरेर बसेको छ । संविधान, लोकतन्त्र, गणतन्त्र धरापमा पर्ने खालको स्थिति देखापर्दै छ । पार्टी संगठनको हिसाबले अभियान राम्रो भए पनि व्यवस्थामाथि खतरा आइपर्‍यो । त्यसबारे गम्भीर छलफल गर्नुपर्नेछ,’ उनले भने । बैठकमा विकसित घटनाक्रमबारे छलफल हुने उनले बताए ।

सरकारको कामले जनतामा निराशा छाएको र त्यही जगमा राजावादीहरू सलबलाएको गुरुङले दाबी गरे । ‘सरकारको कामले जनतामा निराशा छाएको छ । त्यही निराशामा टेकेर राजावादीहरू सलबलाएका छन् । यसबारे अन्य दल गम्भीर देखिएनन्,’ उनले भने ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सदनलाई प्रभावकारी बनाउन, केन्द्रीय राजनीतिबारे छलफल गर्न र स्ववियू निर्वाचनलगायतका कारणले अभियान स्थगित गर्नुपरेको बताए । यही बिचमा फागु पर्व र रमजान पनि परेको छ । त्यसले पनि अभियानलाई प्रभावित गरेको नेताहरू बताउँछन् ।

सरकारको कार्यशैलीबाट नागरिक निराश भएको मौका छोपेर राजावादीहरूले गतिविधि बढाउँदा प्रमुख दलका नेताहरूले ठुलो चुनौती नभए पनि सचेत हुनुपर्ने औँल्याएका छन् । प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूले सीमा ननाघ्न चेतावनी दिएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राजावादीहरूले परीक्षण गर्न खोजे पनि सफल नहुने बताए । ‘राजावादीहरूले पटक–पटक परीक्षण गर्न खोजिरहेका छन् । अहिले पनि परीक्षण गर्न खोजेका होलान् । सरकारले डेलिभरि दिन नसकेकै कारण राजावादीहरू सलबलाएको भन्ने होइन,’ उनले भने ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गर्दै सीमा नाघे नियन्त्रण गर्नुपर्ने बताए । ‘राजतन्त्र फर्किने सम्भावना छैन । त्यो भनेको इतिहासको गतिलाई पछाडि फर्काउनु मात्रै हो । राजावादीको गतिविधिलाई ठुलो चुनौतीको रूपमा लिनुपर्ने अवस्था छैन । शान्तिपूर्ण ढंगले विचार राख्न पाइन्छ । तर, कानुनभन्दा बाहिर जाने अधिकार कसैलाई छैन । सीमा नाघ्ने प्रयास गरे नियन्त्रण पनि गर्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय