
सामाजिक संस्था युथ अफ निजगढले निजगढ नगरपालिकाको संरक्षकत्वमा होली पर्वको अवसरमा शनिबार प्रि–होली कन्सर्टसहित फुड फेस्टिबल र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
बिहान निजगढको शहिद चोकमा भएको रक्तदान कार्यक्रममा ४ महिलासहित ५३ जनाले रक्तदान गरेका थिए । निजगढ नगरपालिका वडा नम्बर ९ को सहयोगमा भएको सो रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भरतपुरको सहयोग रहेको थियो ।



यस्तै निजगढ ७ स्थित विद्यासागर बोडिङ्ग स्कुलमा भएको खाना महोत्सवमा भने विद्यासागर बोडिङ्ग स्कुल, निजगढ ८ को गौरीशंकर मावि, निजगढ ५ को सार्वजनिक मावि बागदेव, निजगढ ६ को गौरीशंकर मावि सडकटोल, निजगढ ८ को बकैया ठाकुर मावि खयरघारी र निजगढ ९ को होलीएन्जल्स बोडिङ्ग स्कुलका विद्यार्थीहरु सहमागी थिए । महोत्सवमा विद्यार्थीहरुले आफैले तयार पारेको खानाको स्टल राखिएको थियो ।
यसैगरी कन्सर्टमा चर्चित गायक राजेश पायल राईले छातीमा मेरो यो छोटो भोटा, म त मर्छु कि क्या हो, दर्शन नमस्ते, मलाई पनि अग्रेजीमा बोल्न सिकाइ देउनलगायत १ दर्जनभन्दा बढी गीत गाएका थिए ।
कार्यक्रममा निजगढका विभिन्न विद्यालयका छात्रछात्रा र स्थानीय कलाकारहरुलेसमेत प्रस्तुती दिएका थिए । युथ अफ निजगढका अध्यक्ष कमल पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले विद्यार्थीहरुको सीप र लगनशीलता बृद्धि गर्न नगरपालिकाका विद्यार्थीहरुको सहभागितामा नगरपालिकाले खाना महोत्सव आयोजना गरेको बताए ।
कार्यक्रममा निजगढ नगरपालिकका पूर्व नगर प्रमुख सुरेश खनाल, नेकपा एमाले निजगढका नगर उपाध्यक्ष भोला गौतमलगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।