११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निजगढ नगरपालिकाले महिलाहरुबीच आज आयोजना गरेको कविता प्रतियोगितामा निजगढ ५ को सार्वजनिक मावि, बागदेवकी संगीता खडका प्रथम भएकी छिन ।
खडकाले रचना गरेको ‘आमा’ शीर्षकको कविता प्रथम भएको हो । प्रथम भएबापत उनले १० हजार नगद पुरस्कार प्राप्त गरेकी छिन ।



त्यसैगरी निजगढ ६ स्थित गौरीशंकर मावि, सडकटोलकी सन्ध्या थापा मगरको ‘म एक बास्नाबिनाको फूल’ शीर्षकको कविता द्वितीय भएको छ । थापामगरले ७ हजार ५ सय पुरस्कार हात पारिन ।
त्यस्तै प्रतियोगितामा सार्वजनिक माविकै अदिती गौतम तृतीय भईन । उनको ‘उज्यालो यात्रा’ कविताले तृतीय स्थान हासिल गर्दै ५ हजार पुरस्कार जितेको छ ।
त्यसैगरी निजगढ ७ की समृद्धि नेपालीको ‘म एक नारी हुँ’ शीर्षकको कविताले चौंथो स्थान हासिल गर्दै २ हजार नगदसहित सान्त्वना पुरस्कार पाएको छ ।
२० जना कवयत्रीहरु सहभागी भएको सो प्रतियोगितामा पोखराका प्रसिद्ध कवि शिव तिवारी, सुदेश सत्याल र निजगढकी कवयत्री सरु बस्नेतको टोलीले उत्कृष्ट कविताको छनौट गरेको थियो । प्रतियोगितामा दर्जनौं अप्रतियोगिताको पनि वाचन गरिएको थियो ।
नगरपालिका कार्यालयमा नगर उपप्रमुख सोममाया थिङ्गको अध्यक्षता भएको सो प्रतियोगिताको उद्धाटन कार्यक्रम मधेस प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्धाटन कार्यक्रममा नगर प्रमुख सुरथ पुरी, नगर कार्यपालिका सदस्य मनमाया तामाङ्ग लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको संचालन निजगढ नगरपालिका योजना शाखाका अधिकृत अजय उप्रेतीले गरेका थिए ।






