
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिंदालाल साह विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो ।
मंसिर १७ मा अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।



चेक अनादर सम्बन्धी कसुरमा आरोपी वडा अध्यक्षलाई पक्राउ गर्न भनिएको जिल्ला अदालत बाराले जानकारी दिएको छ । वडा अध्यक्ष साहबिरुद्द सोही वडाका चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादरको मुद्दामा अदालतले मंसिर १४ गत वडा अध्यक्ष साहलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।
अदालतले पक्राउ पुर्जी जारी गरे पनि बारा प्रहरी भने आरोपीलाई पक्राउ गर्न आनाकानी गरिरहेका छन् । उनीमाथि राजनीतिक संरक्षणसमेत भएकाले पक्राउ पर्नमा बिलम्व हुन सक्ने स्थानियले आशंका गरिरहेका छन् ।