नेपाल पत्रकार महासंघ बारा शाखाले महासघं जिल्ला कार्यसमिति सदस्य एवंम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेमाथि प्रहरीमार्फत धम्की दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।
महासंघका बारा शाखा सभापती रेशम तिवारीले बिहिबार साझ विज्ञप्ति निकालेर उक्त घटनामा ध्यानाकषर्ण भएको जनाउदै विरोध जनाएको हो ।
विज्ञप्तिमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कमलेश साहले समाचारमा सरोकार नै नभएका व्यक्ति र अदालतले बैकिङ कसुरमा सजाय तोकेपछि फरार रहेका धर्मेन्द यादवलाई प्रयोग गरी धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समाचारप्रति चित्त नबुझे कानुनी उपचार गर्ने बैधानिक उपाय हुँदाहुँदै पत्रकार पाण्डेलाई फरार अभियुक्तबाट धम्की दिने घटनाको घोर भ्रत्सना गर्दछौं भनिएको छ ।
समाचार लेखेकै आधारमा नागरिकको शान्ति सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाएको निकायबाट नै पत्रकार असुरक्षित हुनुपर्ने जस्तो घटनामा संलग्न प्रहरी सहायक निरीक्षक साह र धम्की दिने यादवमाथि कारबाही अघि बढाउन पनि महासंघले सरोकारवाला निकायसंग आग्रह गरेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ– दोषिमाथि तत्काल कारबाही नभए पत्रकार महासंघ बारा सोको लागि अन्य विकल्पमा जानसक्ने पनि चेतावनी दिइएको छ । तर महासंघले जानसक्ने भनेको अन्य विकल्पको बारेमा भने विज्ञप्तिमा केही पनि उल्लेख गरिएको छैन ।
यसैबीच प्रेस चौतारी नेपालले पनि समाचारको विषयलाई लिएर पत्रकारमाथि धम्की दिएको घटनाको विरोध गरेको छ । चौतारीका बारा जिल्ला सचिव जिउत यादवले विज्ञप्ति निकालेर घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन ।