
निर्माण व्यवसायीहरुले विभिन्न क्षेत्रमा निर्माणको काम गरे वापतको भुक्तानी पाउनुपर्ने माग गर्दै शुक्रवार सडक डिभिजन कार्यालय हेटौँडामा तालाबन्दीसङ्गै धर्ना दिएका छन् ।
सरकारी विकास निर्माणको काम वापतको भुक्तानी नपाउदा सप्लाई चेन नै अस्तव्यस्त भएको भन्दै उनीहरुले तत्काल भुक्तानी दिन सरकारसङ्ग माग गरेका छन् ।



निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले सडक डिभिजन कार्यालय, हेटौँडामार्फत भएका कामको निकासा लागि दवाव दिन तालाबन्दी र धर्ना गरेको बताए । उनले सडक डिभिजन कार्यालय, हेटौँडा मातहतका मकवानपुर, बारा र पर्सा जिल्लामा भएका कामको भुक्तानी पाउन बाकी रहेको जानकारी दिए । सडक डिभिजन कार्यालय, हेटौँडा मार्फत भएका काम बापत मात्रै निर्माण व्यवसायीहरुले झन्डै ३५/४० करोड रुपैयाँ भुक्तानी पाउन बाकी रहेको बताए ।
निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयलगायत, सरकारी कार्यालय र स्थानीय तहकाबाट गरि ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको उनको दावी छ । काम सम्पन्न गरेर बिलसहित भुक्तानीका लागि पटकपटक ताकेता गर्दासमेत भुक्तानी नपाएपछि धर्ना र तालाबन्दीमा उत्रनु परेको निर्माण व्यवसायीहरुको भनाइ छ ।
निर्माण व्यवसायीको माग तत्काल सम्बाेधन नभएथप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । धर्नामा मकवानपुरसहित बारा, पर्साका निर्माण व्यवसायीहरु समेत सडक डिभिजन कार्यालय, हेटौँडामा उपस्थित भएका थिए ।
- पोष्टराज अधिकारी, मकवानपुर ।