बाराको सुरक्षामा सांसद अच्युतप्रसाद मैनालीले सरकारको ध्यानाकर्षण गराएका छन ।
सांसद मैनालीले आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा भारतसँग सीमा जोडिएको बारामा पछिल्लो समय शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन ।
मैनालीले शुक्रबार बेलुका बाराको कलैया उपमहानगरपालिका स्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको भन्दै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद मैनालीले भने,‘बारा लगाएत मधेस प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका छन, एक दशकअघि मधेसमा जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था सुरु हुन थालेको हुदाँ भारतीय पक्षसँग समेत समन्वय गरी यस भेगका जनताको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्दछु ।’
गत शुक्रबार साझ बाराको आदर्श कोतवाल गाउँपालिका ३ मा अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने ५० वर्षीय हरीभूषण कुशवाहाको हत्या भएको थियो भने यसअघि गत वर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्डु भनिने रुपेश सर्राफको पनि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
बारामा पछिल्लो एक वर्षमा गोली प्रहार गरी चार जनाको हत्या गरिएको छ भने बारामा पछिल्लो समय गोली प्रहार गरी हत्या गर्ने क्रमसमेत बढेको छ । जिल्लाको बरियारपुर, पचरौता तथा सिम्रौनगढ नगरपालिका ईलाकामा भारतीय सुटरले नेपाल प्रवेश गरि सर्वसाधारण माथि गोली प्रहार गरी हत्या गर्ने क्रम बढेको हो ।