जसपा नेपालले नेतृत्वको गरेको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
प्रदेशसभामा बहुमतका लागि ५४ मत चाहिन्छ तर मुख्यमन्त्री यादवले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५० मत मात्रै खस्यो । ४ मत नपुग्दा यादव नेतृत्वको सरकार ढलेको हो । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ५३ मत मात्रै पर्यो । यो संगै मधेशमा साढे ६ वर्षपछि जसपा सत्ताबाट आउट भएको छ ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएको घोषणा गरे । उनले मुख्यमन्त्रीमाथि विश्वास रहेको भन्दै पक्षमा ५० र विश्वास नरहेको भन्दै विपक्षमा ५३ मत परेको बताए । उनका अनुसार कूल १०३ सांसद बैठकमा उपस्थित थिए ।
जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।
गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा जेष्ठ २२ मा नेकपा एसले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसअघि उनको दल जसपा नेपाल विभाजन भएकोले आजै विश्वासको मत लिनुपरेको छ ।
यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौं पटकमा असफल बनेका छन् ।