कैलालीको भजनी नगरपालिका-५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ।

बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै सडक बगाएको स्थानीयले बताएका छन्।

तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति ०६६/०६७ मा सुरू गरिएको हुलाकी सडक आयोजनाअन्तर्गतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो।

‘सरकारले बनाएको सडक बग्यो। अब हाम्रा घरखेत पनि बग्छन्,’ स्थानीय लक्ष्मी चौधरीले भनिन्।

लालबोझीको एक सय मिटर बढी सडक बगाउँदा स्थानीयहरूले खेतमा बनाइएको आलीबाट हिँडडुल गरिरहेका छन।

स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए। बगाएको सडक देखाउँदै उनले भने, ‘यो सडकबाट हिँड्दा छोटो हुन्थ्यो। अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ।’

उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए।

‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको थियो। हुलाकी सडक सुरूमा केही कटान भइरहँदासमेत तटबन्ध लगायतका कुनै प्रयास गरिएन,’ उनले भने।

उनले समयमा सम्बन्धित निकायबाट तटबन्धको गरिएको भए नदीले सडकमा क्षति नपुर्‍याउने बताए।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चोकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो। ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सोको काम अघि बढ्न सकेको थिएन। अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि तीन चरणमा काम अघि बढाइएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका-१४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिङरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।

विगत तीन वर्षदेखि जीर्ण अवस्थामा रहेको कल्भर्ट जनप्रतिनिधिको पुनर्निर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय