बाराको निजगढमा विपद् व्यवस्थापन सम्बन्धी आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश निजगढले निजगढ नगरपालिका–८, खयरघारी मैदानमा शनिबार नमुना अभ्यास गरेको हो ।
आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्रको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो।
आगोलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहले बताए।
विपद् व्यवस्थापनका क्रममा आगोलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर आगोलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने, क्षतिको मुचुल्का उठाउने लगायत नमुना अभ्यासमा देखाइएको थियो।
अभ्यासका क्रममा निजगढ नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पु¥याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अकस्मात् हुने घरेलु तथा बाह्य आगलागीका घटना नियन्त्रणमा यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले भने,‘घरभित्र भान्सामा खाना पकाउँदा ग्यास चुलोबाट हुन सक्ने आगलागी तथा विभिन्न कारणले हुन सक्ने आगलागी र बस्तीमा लागेको आगलागी कसरी नियन्त्रण गर्ने भन्ने प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएको यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण छ ।’
विशेष गरी सुख्खा याममा वर्षेनी आगलागीबाट जिल्लामा धनजनको क्षती हुने गरेको छ । आगलागीका घटना कसरी हुन्छ, घटना घटिसकेपछि उद्दार तथा राहतका प्रक्रिया कसरी हुन्छ, घटनाको सूचना संकलनदेखि उद्दार, राहत तथा पुनस्र्थापनामा कुन कुन निकायको के कस्तो भूमिका रहन्छ, आगलागीका घटनाबाट बच्न व्यक्ति, परिवार तथा समुदाय कसरी सचेत रहनुपर्दछ भन्ने जस्ता विषयबस्तुलाई समेटेर सबै क्रियाकलाप प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएको थियो ।
सशस्त्र प्रहरीले विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश निजगढका सशस्त्र प्रहरी नायव उपरीक्षक श्रीराम कुवरले बताए।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक कबिराज बस्नेत, निजगढ नगरपालिकाका जनप्रतिनिधि, स्थानियलगायतको उपस्थितिमा आगलागी भए सुरक्षित हुने उपाय, घाइतेहरुको प्राथमिक उपचार तयारी सम्बन्धमा अभ्यास गराइएको थियो ।