विभागीय टीम नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालाको मैदानमा फ्लड लाइटमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिवार भएको खेलमा अर्को विभागीय टीम एपीएफलाई ३–२ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो।

दर्शकले भरिभराउ मैदानमा दुबै विभागीय टीमबीच निकै प्रतिस्पर्धात्मक खेल भएपछि रोमाञ्चक बनेको थियो । एपीएफको टिम सम्हालिन नपाउँदै खेल सुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिष राइले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिष राईको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको २० औं मिनटमा एपीएफ २–० ले पछि पर्‍यो । रामचन्द्र वाजेको गोल मार्फत पुलिसले एपीएफ विरुद्ध फराकिलो अग्रता बनाएको थियो । उज्वल राईको क्रस बल सम्हाल्दै रामचन्द्र वाजेले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

महत्वपूर्ण खेलमा २–० ले पछि परेपनि एपीएफका खेलाडी उच्च मनोबलका साथ मैदानमा देखिन्थे । निकै आकर्षक खेल प्रस्तुत गरेको एपीएफका लागि खेलको ४२ औं मिनटमा प्रदिप लामाले गोल गर्दै २–१ को स्थितीमा ल्याए । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्समा सम्हाल्दै प्रदिपले गोल गरेका थिए ।

खेलको ६१ औं मिनटमा युवराज खड्काको गोल मार्फत एपीएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको स्थानमा मैदान प्रवेश गराएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको सदुपयोग गर्दै एपीएफलाई खेलमा फर्काएका थिए ।

२–० ले पछि परेको अवस्थामा खेलमा फर्कन सफल भएको एपीएफविरुद्ध पुलिसका सुजन मगरले पुनः अग्रता दिलाउन सफल भए । खेलको ८८ औं मिनटमा सुजनले एपीएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्बी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे ।

खेलको अन्तिम इन्जुरी समयमा एपीएफ १० खेलाडीमा सिमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपीएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउादै मैदान बाहिर पठाएका थिए ।

दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभीजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ वर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो ।

खेलको म्यान अफ दि म्याच पुलिसका रामचन्द्र वाजे घोषित भए । उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार नगद र ट्रफी प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय