नेकपा एमाले बारा जिल्ला कमिटीको अधिवेशन अन्तर्गत मंगलवारबाट निर्वाचनको प्रक्रिया सुरु गरेको छ । निर्वाचन कार्यक्रम मंगलबार साझदेखि सुरु भएको हो । निर्वाचन कार्यक्रम कलैयास्थित जानकी सिनेमा हलमा भइरहेको प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले जानकारी दिए ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने एमाले निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनमा सहमतिमा नेतृत्व चयनकालागि छलफल चलिरहे पनि आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ । एमालेले बारामा मतदानबाटै नयाँ नेतृत्व चयन गर्ने सम्भावना देखिएको छ ।

निर्धारित समयभन्दा ढिला गरी एमालेले मंगलवार साँझ मतदाता नामावली प्रकाशन गरेको छ भने बुधबार १२ः३० बजे पश्चात उम्मेदवारको मनोनयन हुने बताइएको छ । निर्वाचन समितिले मंगलवार निर्वाचन कार्यतालिका र प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जसअनुसार बुधबार बिहान १०ः१५ पछि अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ । मतदानको समय भने बिहीबार बिहान ८ बजेबाट दिउसो ३ बजे सम्मको लागि तोकिएको छ ।

अध्यक्षका लागि कोल्हबी नगरपालिकाका पूर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकालसम्म जिल्ला सचिव भएका अध्यानन्द पाण्डे र नेकपा एमाले बाराको निवर्तमान उपाध्यक्ष टिना सुवेदीले दाबी गरेका छन् । निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने अधिवेशन प्रतिनिधिहरुले बताएका छन ।

‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी छ । सहमति हुँदा नयाँ नाम पनि आउन सक्ला ।’ मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले भने, ‘तर चर्चामा रहेका उम्मेदवारहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।’

यसैबीच, अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशन प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेका छन । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नै नेतृत्व चयन हुने देखिएको छ ।

निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका समर्थकहरु नेतृत्वको आकांक्षी देखिएका छन । नेताहरु पनि आफआफ्नो पक्षका कार्यकर्तालाई उम्मेदवार बनाउने र जिताउने रणनीतिमा सक्रिय बनेका छन । कतिपयले यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय