काठमाडौं । नेपाल प्रहरीमा नायब प्रहरी उपरीक्षक (डीएसपी)का दरबन्दी महिनौं खाली राखेर बढुवा नगरेपछि आकांक्षीहरु रुष्ट देखिएका छन् । साउनयता रिक्त एसपीको दरबन्दीमा पदपूर्ति भएको छैन । अहिले ८ दरबन्दी रिक्त छ ।

‘आफूसँगै जागिर खाएकाहरु झण्डै २ वर्षअघि एसपी भए । दुई लट बढुवा हुँदा आफू पर्न सकिएन । तेस्रो लटमा पालो आउला भनेर कुर्दा महिनौं बितिसक्यो । यसबाट मानसिक रुपमा निकै गाह्रो हुने रहेछ’, एक आकांक्षीले भने ।

गत जेठमा २२ जना डीएसपी एसपीमा बढुवा भएका थिए । त्यसयता साउनमा २ र मंसिरमा ५ वटा दरबन्दी खाली भएको थियो । माघको पहिलो साता एसएसपीमा रिक्त एक दरबन्दी पूर्ति गरिएपछि एसपीमा रिक्त संख्या ८ पुगेको छ ।

२०७२ साउनमा डीएसपी भएका १५ मध्ये ३ जना गत जेठमै एसपीमा बढुवा भएका थिए । बाँकी रहेका १२ जना अहिले एसपी बन्ने दौडमा छन् ।

प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराज शर्मा र विनोद घिमिरे अहिले सिनियर डीएसपी छन् ।

तर, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय यीमध्ये ८ जनालाई एसपीमा बढुवा गर्न उदासीन देखिएको आकांक्षीहरुको आरोप छ । त्यसो त २०७२ चैतमा डीएसपी बनेका सुमित खड्का, तपन दाहाल, शरद थापा क्षेत्रीलगायतले पनि दाबी गरिरहेको बताइन्छ ।

एकै मितिमा भर्ना भएको केही महिनापछि मात्र डीएसपीमा बढुवा भएको र एसपी बन्न आवश्यक योग्यता पुगेको उनीहरुले तर्क गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

‘सरकारले चाहँदा रिक्त एक दरबन्दी (एसएसपी)मा मात्र पनि बढुवा निकाल्न सक्ने तर एसपीमा यति धेरै खाली हुँदा पनि नगर्ने भन्ने हुन्छ ?’, असन्तुष्ट प्रहरी अधिकृत प्रश्न गर्छन् ।

प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ एसपी र एसएसपीको एकएक दरबन्दी सारेर एसपीमा रिक्त दरबन्दी संख्या १० वटा पु¥याउने तयारी पनि गरिरहेको छ । यसको पछाडि बढुवाका धेरै आकांक्षी हुनुलाई कारण मानिएको छ ।

तर, यो प्रक्रिया कहिले पूरा हुन्छ भन्ने निश्चित छैन । सर्वोच्च अदालतले नै तीन महिनाभन्दा बढी समय दरबन्दी रिक्त नगर्न आदेश गरे पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले त्यसलाई वेवास्ता गरिरहेका छन् ।

आईजीपीका रुपमा बसन्त कुँवर आएपछि रिक्त दरबन्दीमा वरियताक्रमका आधारमा बढुवा गर्न थालेपछि ‘कार्य सम्पादन मूल्यांकन गर्न नपरे जवानलाई बढुवाको जिम्मा दिए भइगयो नि’ भन्नेसम्मको आलोचना खेपेका थिए ।

नेपाल प्रहरीमा आगामी बैशाखमा दुई एआईजी र एक डीआईजी तथा जेठमा एक डीआईजीले अवकाश पाउँदैछन् । त्यसले माथिल्लो दर्जाहरु पदपूर्ति हुँदा एसपीमा पनि थप चार वटा दरबन्दी रिक्त हुने देखिन्छ ।

तर, त्यसअघि रिक्त दरबन्दी पदपूर्ति नभए एसपीको बढुवा थप केही महिना लम्बिन सक्ने आकांक्षीहरु बताउँछन् । नयाँ गृहमन्त्रीका रुपमा रवि लामिछाने आएपछि उनीहरु आशावादी देखिएका छन् ।

रविले निरन्तर प्रहरीका काममा हस्तक्षेप नगर्ने र कानून सम्मत कामहरुका लागि आफ्नो आदेश नकुर्न भनिरहेका छन् । सरुवा बढुवाका लागि शक्ति केन्द्र नधाउन र दबाब नदिन पनि उनले निर्देशन दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय