मंगलबार बिहानदेखि बारा र आसपासको क्षेत्रमा एक्कासी चिसो बढेको छ । प्रतिकूल मौसमका कारण सिमरा विमानस्थल प्रभावित भएको हो ।
बाक्लो हुस्सु र खराब मौसमका कारण मंगलबार काठमाडौंबाट सिमरा र सिमराबाट काठमाडौं हुने उडान प्रभावित भएको छ भने विमानस्थल समेत बन्द गरेको सिमरा विमानस्थले जानकारी दिएको छ।
मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा विमानस्थल बन्द गरिएको सिमरा विमानस्थलका प्रवक्ता सुरेन्द्र कुशुवाले जानकारी दिए । उनले भने,‘विमानस्थलबाट हुने उडान प्रभावित भएका छन, सामान्यतया सिमराबाट काठमाडौँ हवाइ उडानका लागि २ हजार ४ सय भिजिबिलिटी (पारदर्शिता) आवश्यक पर्दछ । तर आज सिमरा विमानस्थलको भिजिबिलिटी अधिकतम् दुई सय मिटर पनि छैन । मौसममा केही सुधार आएमा सिमरा विमानस्थल खुल्ला हुने छ, हाललाई विमानस्थल बन्द गरिएको छ ।’
विमानस्थल बन्द भएतापनि उडान भने रद्द भएको छैन। तर सबै उडान डिले भने गरिएको छ ।
यस्तै, एक साता यताबाट परिर्वतन भएको मौसमले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
मौसम परिर्वतनका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले बाराको जनजीवन प्रभावित भएको छ ।