मिगौलाको डायलाइसिस गर्न चितवन जाँदै गरेका विरामी बोकेको एम्बुलेन्स र स्कुटरलाई यात्रबाहक बसले ठक्कर दिँदा भएको दुर्घटनामा एक विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा. प्र. ०६००१ ख ०१९६ नम्बरको बसले पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– २ भृकुटीचोकमा सोही दिशातर्फ जाँदै गरेको ना. ३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरट्याक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग. १च ७१५२ नम्बरको विरामी बोकेको एम्बुलेन्ससँग ठोक्किएको थियो ।
मृत्यु हुनेमा नवलपुरको मध्यविन्दु नगरपालिका– १२ का ७५ वर्षीय मानबहादुर कुमाल छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
दुर्घटनामा परी स्कुटरचालक गैँडाकोट– ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मध्यविन्दु– १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । स्कुटरचालक भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।