बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयले आन्दोलन गरेका छन्।
सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्राैनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा स्थानीयले सडक बन्द गरेर आन्दोलन गरेका हुन्।
तामागढीको प्रस्थान विन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूले आन्दोलन गरिरहेका छन्। पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
तामागढी–सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा ०७८ चैत १८ गते निर्माण सम्पन्न भएको थियो। जसमध्ये ३९.७५ किलोमिटर सडक विस्तार गर्दा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो। तर, निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दासमेत मुआब्जा नदिएपछि स्थानीय आन्दोलित भएका हुन्।
आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी छन्।