काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ । आज बिहान ११ बजेदेखि पार्टी मुख्यालय ललितपुरको च्यासलमा सुरू हुने बैठकले ‘बा’ ब्राण्डिङ छाडेर ‘कार्यकर्ता आधारित पार्टी’ बनाउन छलफल गर्ने यसअघि नै फागुन ३ गतेको सचिवालय बैठकले निर्णय गरिसकेको छ ।
एमाले ‘कार्यकर्ता आधारित पार्टी’ बनाउन छलफल गर्ने भएको छ । यद्यपी एमालेले विगतदेखि नै आफूलाई कार्यकर्ता आधारित पार्टी नै भन्दै आएको छ । विगतमा त्यस्ता गतिबिधि भए पनि पछिल्लो दशक पार्टी अध्यक्ष केपी शर्मा ओली आधारित भएर अघि बढेको थियो ।
झण्डै एक दशक ओली आधारित भएर अघि बढेको एमालेले ‘बा’ ब्राण्डिङमा समय र शक्ति लगाएको थियो तर अब एमालेले ‘बा’ ब्राण्डिङ छाडेर पार्टी ब्राडिङ गर्ने तयारी गरेको छ । पार्टी सचिवालयको २७औं बैठकबाट केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकमा ‘कार्यकर्ता आधारित पार्टी’ बनाउने विषयमा छलफल गर्ने निर्णय गरेको हो । एमालेका पछिल्लो गतिबिधि ओली ब्राण्डिङमा केन्द्रीत भएको थियो । आफैँ स्थापति ओलीलाई ब्राण्डिङ गर्ने नाममा भएका गतिबिधले केहीले रोजागरी पाएको भएपनि अझै बलियो ब्राण्ड बनाउन खास योगदान नपुगेको केन्द्रीय कार्यालयतिरै चर्चापरिचर्चा हुने गरेको छ ।
ओली आधारित पद्धतीले पार्टी थप संंकटतर्फ धकेलिएको नेताहरूको निष्कर्ष छ । यद्यपी ओलीको सन्दर्भमा मुख खोल्दा सडकमा पुग्ने डरले बोल्न डराउने गरेका छन । कर्णाली प्रदेश कमिटीको निर्वाचित उपसचिव माथि केन्द्रले गरेको हस्तक्षेप र धादिङ जिल्ला अधिवेशन नै कु गरेर भएका गतिबिधिलाई उदाहारण मानेर पनि यसमाथि चर्चापरिचर्चा हुन थालेको छ ।
ओली ब्राण्डिङमा एमाले केन्द्रीत हुँदा पार्टीमा मूल्यांकनको आधार नै ओलीलाई ‘बा’ भन्ने र गणेश प्रवृत्ति अंगालेर नेताहरूको दैलो चाहर्नुपर्ने बनेको थियो । अब एमालेले फेरि कार्यकर्ता आधारित पार्टी बनाएर नेताको कुरा कार्यकर्ता र कार्यकर्ताको कुरा नेताले सुन्ने गरी पद्धतिको विकास गर्न खोजेको देखिन्छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक यही फागुन ८, ९ र १० गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमै गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा पनि छलफल हुने घोषित कार्यसूची तय भएको छ । साथै बैठकमा देश र जनताका सरोकारका विषयमा दवाव सिर्जना गर्न जनपरिचालन गर्ने विषयमा पनि छलफल गरिने एमाले जनाएको छ ।
फागुन १० गतेसम्म जारी रहने एमाले केन्द्रीय कमिटीमा साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । यैसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन ।