राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा सांसद मैनालीको आग्रह सम्बोधन गरेको छ ।
गत माघ ४ गते बिहिबार सांसद मैनालीले उनका स्वकीय सचिव दामोदर मैनाली मार्फत पत्र बुझाउदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानालाई पर्सा राष्ट्रिय निकुञ्जसंगै जोडिएको निजगढ नगरपालिकामा वन्यजुन्तबाट हुने आक्रमण न्यूनीकरण र समाधानको दीर्घकालीन योजना बनाउन ध्यानाकर्षण गरेका थिए ।
सो पत्रको सम्बोधन गर्दै विभागले बाराको निजगढ नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा पाटे बाघको आक्रमणबाट दिनदिनै किसानले पालेको चौपाया मारेर खान थालेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गरिरहेको र वन्यजन्तु आक्रमण नियन्त्रण तथा यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सांसद मैनालीले पत्र मार्फत जानकारी भएको बताउदै विभागले पर्सा राष्ट्रिय निकुञ्ज आधाभारलाई पत्रचार गर्दै मानव र वन्यजन्तु बिचको द्वन्द न्यूनीकरण तथा यसको दीर्घकालीन समाधानको उपाय अपनाउन निदेशन दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुसन्धान अधिकृत बिष्णु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पत्रमाफत वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण तथा राहत वितरण सहज रुपमा उपलब्ध गराउन समेत निदेशन दिएको वरिष्ठ अनुसन्धान अधिकृत श्रेष्ठले जानकारी दिए ।
यता पत्र प्राप्त भएलगतै पर्सा राष्ट्रिय निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनलाई पत्रचार गर्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद अच्युत प्रसाद मैनालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र बुझाईएको र विभागबाट पर्सा राष्ट्रिय निकुञ्जमा पत्र प्राप्त भएको तथा निजगढ नगरपालिकाले समेत पर्सा राष्ट्रिय निकुञ्जमा पत्र माफत त्यस क्षेत्रको अबस्थाको बारेमा स्थिति जानकारी गराईएको र यस कार्यालयबाट सो स्थानमा दुईवटा क्यामेरा ट्र्यापिङ जडान गरिएको र सोको अनुगमन गरी थप पशुचौपायाको क्षति हुन नदिन तथा मानव र वन्यजन्तुबीच द्वन्द व्यवस्थापनको लागि आवश्यक प्राविधिकहरु उपलब्ध गराउन अनुरोध गरेको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोष कुमार भगतले जानकारी दिए ।
यसको हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए तापनि उनीहरूसँग उपलब्ध पर्याप्त स्रोतसाधनको अभावले प्रभावकारीरूपमा यसको निदान गर्न सकिरहेका छैनन् । वन्यजन्तुको वृद्धिसँगै मानव र वन्यजन्तुबीच द्वन्दका घटनाहरू पछिल्लो समय दिनदिनै बढिरहेका छन् ।