तौल कम राखेर गाईभैसीलाई खुवाउने ढुटो बिक्री गरेको विषय अहिले निजगढको बजारमा निकै चर्चामा छ ।

खाद्यन्न भण्डारले निजगढ नगरपालिका ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका पशुपालक किसानलाई बिक्री गर्न भनेर लगेको ३० केजी क्षमताको बोरामा ३ केजीसम्म कम पाईएको थियो ।

क्षमता भन्दा कम पाइएपछि ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गणेश खाद्यान्न भण्डारबाट ५३ बोरा ढुटो नियन्त्रणमा लिएको छ । ५३ बोरा मध्य १३ बोरा सहकारीबाट फिर्ता लाईएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको ढुटोको नाप जाच गर्दा ३० केजी क्षमताको बोरामा २७ केजी ७०० ग्राम देखी ३० केजी ५०० ग्राम सम्मका बोराको वजन भएको पाईयो ।

कहाँबाट कसरी आईपुग्यो ढुटो सहकारी सम्म

यस ढुटोको प्रमुख उत्पादन गर्ने पर्साको बिन्दवासिनिमाई गाँउपालिका रहेको संतोष एण्ड शितल खाद्य उद्योग प्रा. लि. हो । यहाँ उत्पादन गरेको राइस ब्राण्ड गरेको ढुटो बाराको जितपुरसिमरा ७ स्थित आरके खाद्यन्न सप्लायर्सले खरिद गर्छ ।

पुनः सोही ढुटो बाराको निजगढ नगरपालिका स्थित गणेश खाद्यन्न भण्डारले खरिद गरि पुनः बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गरेको देखिन्छ ।

बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको विज्ञप्ति
घटनाको बारेमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले आइतवार एक विज्ञप्ति निकालेर गणेश खाद्य भण्डारले गत माघ ५ गते बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिगौँल सेवा केन्द्रका किसानलाई बिक्री गर्न भनेर १ सय बोरा ढुटो ढुवानी गरेकोमा संस्थाका कर्मचारीद्धारा नाप जाँच गर्ने क्रममा प्रतिबोरा ३ केजीसम्म कम पाइएको र सोको कारबाहीको लागि कानुनी प्रक्रिया शुरु भएको बताए ।

घटनापछि कानुनी कारबाही अघि बढाइएको बताउदै सहकारीका अध्यक्ष सापकोटाले सिंगौल सेवा केन्द्रमा लागिएको १ सय बोरा मध्ये ८७ बोरा ढुटो कृषकले खरिद गरिसकेकोले प्रत्येक बारोमा ३ केजी घटाएर २७ केजी कायम गरी कृषकको हिसाब राखिने पनि जानकारी दिए ।

साथै सहकारीले आगामी दिनमा उक्त खाद्य भण्डारबाट कुनै पनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराएको छ ।

खाद्य भण्डारका संचालक रामप्रसाद हुमागाई सहकारी संस्थाको लेखा समितिको सदस्य पनि हुन । संस्थाको मान मर्यादामा आँच पुग्ने कार्य गरेको प्रमाणित भएको खण्डमा हुमागाईमाथि संस्थाले थप कारबाही पनि गरिने संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता खाद्य भण्डारका संचालक हुमागाईले भने डिलरबाट आउँदाको अवस्थामा नै ढुटो कम आएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय