इन्डियन आइडल १२ को फाइनल राउन्ड नजिकिएको छ। सबै जना अहिले आफूलाई मनपर्ने सहभागी जिताउन लागिपरेका छन्।

यस सिजनको शीर्ष छ सूचीमा पवनदीप राजन, सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बले छन्। यीमध्ये आइडलको ट्रफी कसले लानेछ भनेर तय भएको छैन। सहभागीले आफ्नो सामाजिक मिडियामा फलोअर्स भने कमाइरहेका छन्।

पछिल्लो समय सेलेब्रिटीहरूबीच सामाजिक सञ्जालमा कसको फलोअर्स कति भन्ने प्रतिस्पर्धा छ। लोकप्रियताको एउटा मानक सामाजिक सञ्जालमा फलोअर्सको संख्या पनि हो। यसबाट इन्डियन आइडलका प्रतिस्पर्धीहरू पनि अछुतो छैनन्।

भारतीय मिडिया ‘जुम’ ले सामाजिक सञ्जालको फलोअर्सका आधारमा इन्डियन आइडलका शीर्ष ६ प्रतिस्पर्धीको लोकप्रियता सूची निकालेको थियो, जस आधारमा अरूणाञ्चल प्रदेशका पवनदीप राजन सबभन्दा अगाडि छन्।

उनको इन्स्टाग्राममा दस लाखभन्दा बढी फलोअर्स छन्। उनी सन् २०१५ को रियलिटी कार्यक्रम ‘भ्वाइस अफ इन्डिया’का विजेता थिए। भोटका आधारमा पनि पवनदीपले अन्य प्रतिस्पर्धीलाई उछिन्दै आएका छन्। उनको यो लोकप्रियता सामाजिक सञ्जालमा पनि देखिएको छ।

अरूणिता कांजीलाल लोकप्रियताको दोस्रो स्थानमा छिन्। १८ वर्षीया अरूणिता सबभन्दा कान्छी प्रतियोगी हुन्।

सानै उमेरमा उनले सामाजिक सञ्जालभित्र र बाहिर चर्चा कमाउन थालिसकेकी छन्। उनको जन्म कलकत्तामा भएको थियो। उनले रियलिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’ बाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन्। अहिले इन्स्टाग्राममा उनको लगभग दस लाख फलोअर्स छन्।

तेस्रो स्थानमा छन्, मोहम्मद दानिश। उनलाई इन्स्टाग्राममा सात लाखभन्दा बढीले फलो गरेका छन्।

उनले आफ्नो गायनबाट दर्शकलाई मात्र नभई थुप्रै सेलिब्रेटीलाई प्रभावित पारेका छन्। एकपटक अभिनेत्री नीतु सिंहले उनलाई स्वर्गीय ऋषि कपुरसँग तुलना गरेकी थिइन्।

इन्डियन आइडलको ‘योडलिङ क्वीन’ नामले चिनिने प्रतियोगी सनमुख प्रियाले ‘सारेगमप लिटल च्याम्प्स तेलेगु’ बाट गायनमा डेब्यू गरेकी थिइन्। यस सिजनमा उनले आफ्नो गायन शैली परिवर्तन गरेको कारण कयौं नकरात्मक प्रतिक्रिया पनि पाएकी थिइन्। इन्स्टाग्राममा उनको तीन लाखभन्दा बढी फलोअर्स छन्।

त्यस्तै, सायलीको इन्स्टाग्राममा लगभग तीन लाख फलोअर्स छन्। उनले भारतीय रियलिटी शो ‘भ्वाइस अफ इन्डिया’ र ‘मम्मी के सुपरस्टार’ बाट गायनमा सहभागी हुँदै इन्डियन आइडलसम्म यात्रा बढाएकी हुन्।

कर्नाटकका गायक निहाल ताउरो इन्डियन आइडलमा आफ्नो ‘सुथिङ’ आवाज र आर्कषित कपालका कारण परिचित छन्। उनले आफ्नो गायन करियर ‘सारेगमप कन्नड’ बाट सुरू गरेका हुन्। उनले थुप्रै अन्तर्राष्ट्रिय कार्यक्रम पनि गरेका छन्। इन्स्टाग्राममा उनको लगभग दुई लाख फलोअर्स छन्।

यही अगष्ट १५ मा इन्डियन आइडलको विजेता घोषणा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय