ललितपुर महानगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिकहरूलाई निःशुल्क गाडी सेवा दिँदै आएको छ।
वडासम्बन्धी कामले कार्यालय आउजाउ गर्ने जेष्ठ नागरिकलाई लक्षित गरेर यो सेवा सुरू गरिएको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए।
बिजुलीबाट चल्ने यो गाडीमा एक पटकमा ८ जना यात्रुले सेवा पाउँछन्।
‘वडा कार्यालयमा पाटन ढोकादेखि कीर्तिपुरदेखि जेष्ठ नागरिकहरू सेवा लिन आउनुहुन्छ,’ उनले भने, ‘उहाँहरूको सहजताको लागि हामीले निःशुल्क गाडी सेवा उपलब्ध गराएका हौं।’
हरेक दिन बिहान साढे १० बजे र दिउँसो २ बजे गरी दुई पटक सो गाडी जेष्ठ सेवाग्राहीको लागि उपलब्ध हुन्छ। यो गाडी वडा कार्यालयदेखि पाटनढोका-कृष्ण गल्ली-बखुण्डोल-झम्सिखेल-चक्रपथ-धोविघाट-पुलचोक हुँदै वडा कार्यालय फर्किन्छ।
जेष्ठ नागरिकहरूलाई ललितपुर वरिपरिका ऐतिहासिक ठाँउ घुमाउन पनि यो गाडीको प्रयोग गर्ने गरिएको छ।
नेपाल सरकारले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याएपछि ललितपुर महानगर-३ वि.सं. २०७५ मै गाडी भित्र्याएको थियो।
वडा कार्यालय आउन नसक्ने जेष्ठ नागरिक छन् भने उनीहरूलाई घरमै लिन र पुर्याउन पनि गाडी पठाउने गरिएको छ।
‘कहिलेकाहीँ जेष्ठ नागरिक वा अशक्तलाई लिन घरमै गाडी जान्छ। गाडी चालक उपलब्ध भए १०-१५ मिनेटभित्र हामी यतैबाट गाडी पठाउँछौं,’ उनले भने।
पहिले तुलनामा अहिले गाडीको प्रयोगकर्ताको चाप घटेको उनले बताए। जेष्ठ नागरिक गाडीमा भन्दा हिँड्न रोज्नु नै यस्तो हुनुको प्रमुख कारण भएको उनको बुझाइ छ। सेवा लिने यात्रु घटेपछि हिजोआज यो गाडी दिनको एक पटक मात्र ती रूटमा गुड्छ।
सुरूमा जेष्ठ नागरिकले मात्र प्रयोग गर्ने नीति वडाले लिए पनि अहिले वडा परिचय पत्र भएका सबै वर्गले सेवा लिन पाउँछन्।
वडाको कामको लागि वा गाडीको रूटमा कतै जानुपर्यो भने वडाको परिचय पत्र देखाएर सजिलै गाडी चढ्न सकिन्छ।
वडाले विद्युतीय गाडी सेवाको साथै जेट मेसिन र शव बहानको सेवा पनि दिँदै आएको छ।