प्रत्यक्षदर्शीको बयान : भारतीय सुरक्षाकर्मीले तार खुस्काइदिए, हेर्दाहेर्दै जयसिंह महाकालीमा डुबे

दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा जाने छोटो र सजिलो बाटो भनेको भारत हुँदै जाने नै हो । यदि भारतको बाटो भएर दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा जाने हो भने जिल्ला सदरमुकामबाट २५ किलोमिटरको दुरीमा छ । तर, आफ्नै देशभित्रबाट त्यहाँ बाटो नभएपछि भारतीय भूमि हुँदै त्यहाँका मानिसहरु जिल्ला सदरमुकाम खलंगा आउन–जान बाध्य छन् ।

साउन १५ गते आफ्नो गाउँ मालघाटबाट जिल्ला सदरमुकाम खलंगा आउन लागेका स्थानीय ३३ वर्षीय युवक जयसिंह धामी पनि छोटो बाटो, अर्थात् भारतीय भूमि हुँदै आउन लाग्दा महाकाली नदीमा बेपत्ता भए

स्थानीयबासीको भनाइ अनुसार दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटबाट भारतीय भूमि गास्कु पाङ्गला जोड्ने सामान्य अस्थायी तुइन तर्ने क्रममा भारत तर्फबाट तुइनको लठारो खुस्काइयो । तुइनबाट भारततर्फ गइरहेका बेला तुइन खुस्काइदिँदा धामी महाकाली नदीमा डुब्न पुगे । अहिलेसम्म उनी वेपत्ता छन् । भारतीयहरुले उनको खोजीमा समेत असहयोग गरेको स्थानीयको गुनासो छ ।

घटनाबारे जानकारी आएलगत्तै स्थानीय निकाय, नेपाल सरकार, पत्रकार, वकिल र मानव अधिकारवादीले घटनास्थलमा जान चाहे पनि भारतीय पक्षको अवरोधका कारण भारतीय बाटो भएर घटनास्थलमा जान रोक लगाइएको छ । स्थानीय मानिसहरुलाई त्यहाँ जान छुट दिइएको भए पनि स्थानीय मानिसबाहेक अन्य मानिसलाई त्यसक्षेत्रमा जान नदिइएको र पत्रकार, वकिल र मानव अधिकारीवादीलाई पूर्ण बन्देज लगाइएको खुलासा भएको छ ।

घटनास्थल पुगेर काठमाडौं फर्किएका जनअधिकार अभियान नेपालका महासचिव अधिवक्ता सन्तोष कोइरालाका अनुसार मानव अधिकारवादी, वकिल र पत्रकारलाई भारतीय भूमि भएर दार्चुला जान निषेध गरिएको हो ।

घटनाबारे बुझ्न आएको थाहा पाएपछि उनीहरुले सबै नाकामा खबर गर्ने गरेको र नेपालीलाई प्रवेश निषेध गरेको अधिवक्ता सन्तोष कोइरालाले बताए ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घटनाबारे प्रारम्भिक प्रतिवेदन दिएको जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइनको डोरी फुस्काइदिएको कारण नेपाली युवा जयसिंह धामी वेपत्ता भएको बताएको छ ।

जनअधिकार अभियान नेपालले दिएको प्रतिवेदनअनुसार नेपाली भूमि मालघाट र भारतीय भूमि गास्कु पाङ्गला जोड्ने तुइन तरी भारतीय भुमी धार्चुला हुँदै नेपालतर्फ दार्चुलाको सदरमुकाम खलंगा आउने क्रममा २०७८ साल साउन १५ गते बिहान सवा ९ बजे जयसिंह धामी महाकाली नदीमा डुबेर वेपत्ता भएका हुन् । तुइन तर्ने क्रममा भारततर्फ रहेको रुखमा बाँधिएको तुइन भारतीय सुरक्षाकर्मीले फुस्काइदिएपछि उनी पानीमा डुबेका थिए ।

प्रतिवेदनअनुसार सडक किनार वा पहिरो रोक्नका लागि भनेर बनाइने तारजालीमा हुने सानो तार झिकेर ४ वटा तारलाई एउटा लठ्ठा बनाएर तुइनका रुपमा प्रयोग गर्ने गरिएको थियो । नेपाली भूमिमा एउटा काठको खम्बा गाडिएको र भारतीय भूमिमा एउटा रुपमा उक्त तारलाई बाँधेर त्यही तारमा घिर्नी राखेर वारपार गर्ने गरिएको थियो ।

प्रतिवेदनमा भनिएको छ–

‘…जयसिंह धामीले तुइन तर्न भनी तुइनमा चढेपछि पारी (भारतीय भूभागमा) पुग्नै लाग्दा, करिब २–३ मिटर जति बाँकी हुँदा भारतीय एसएसबीका २ जना सुरक्षाकर्मी अघिपछि गर्दै आए, तीमध्ये अगाडि आएको एकजनाले तुइनको डोरी फुकालिदिए । यो दृश्य नेपाली भूभाग (वारि) बाट स्थानीयले स्पष्टसँग देखे । तुइन डोरी (तार) फुकालेपछि तार लत्रिँदै नदीमा खस्यो, जयसिंह धामी पनि महाकाली नदीमा खसे । नदीको बहाव बढी थियो । प्रत्यक्षदर्शीले हेर्दाहेर्दै हारगुहार गर्दागर्दै जयसिंह धामीलाई महाकाली नदीले डुबायो र बेपत्ता पा¥यो । जयसिंह धामीलाई बगाएपछि भारतीय एसएसबीका ती २ जना सुरक्षाकर्मीहरु त्यहाँबाट तत्काल भागी गए ।’

यस्तो छ जयसिंह धामी पानीमा डुब्दै गर्दा देख्ने कल्याणसिहं धामीको बयान :

‘२०७८ साल साउन १५ शुक्रबार बिहान करिब ९ बजे म जयसिहं धामीसँगै थिएँ । उनी र हामी तुइन तर्ने क्रममा थियौँ । म नेपाली भूमिमा २० वर्षदेखि तुइन तार्ने काम गरिरहेको छु । सो दिन नेपाली नागरिकहरु जयसिहं धामी पनि तुइन तर्नका लागि आउनुभएको थियो ।

जयसिहं धामी भन्दा पहिले ४ जनाले नदी पार गरिसक्नुभएको थियो । पाँचौं व्यक्तिका रुपमा जयसिंह धामी तुइन तर्ने क्रममा पारी पुग्न करिब २–३ मिटर बाँकी रहँदा १ जना अगाडि र १ जना पछाडि भारतीय सुरक्षाकर्मी आए । वारिबाट देख्दा बाँधिएको तार घुमाएको जस्तो देखियो । त्यसको लगत्तै तुइनको तार लत्रियो । नदीको बहाव बढी भएका कारणले उनलाई पानीले हुत्याइहाल्यो र उनी महाकालीमा बगे ।

हामीले हार गुहार ग¥यौँ, गाउँले हरु बोलायौं तर उनलाई भेटाउन सकिएन । जयसिहं धामी बगेपश्चात भारतीय सुरक्षाकर्मीहरु भागे । अहिले मलाई भारतीय क्षेत्रमा खतरा रहेको छ ।’

घटना गराउने सुरक्षाकर्मीको सरुवा भइसकेको जानकारी आएको छ : प्रअ सुकुन्द्र सिंह धामी

घटनाबारे नजिकबाट बुझेका स्थानीय रानीस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक सुकुन्द्र सिंह धामीको बयान यस्तो छ :

‘तुइन काटिएको नकाटिएको थाहा छैन । हामी घटना घटेको थाहा पाएको आधा घण्टामा घटनास्थल पुगेका थियौँ । जयसिहं धामीलाई नदीको धेरै परसम्म खोज्ने प्रयास ग¥यौँ तर भेट्न सकिएन । तुइन काटिएपश्चात यहाँ नुन तेल लगायत खाद्यान्न अभाव र संकट थपिएको छ ।

वडा नम्बर ३ का अध्यक्ष उपेन्द्र सिहं धामी एसएसबी क्याम्प पुगेको र एसएसबीले तुइन भएको ठाउँमा कसैलाई ड्युटी नपठाएको दाबी गरेको, तर तुइन खोल्ने एसएसबीका जवानहरुको अन्यन्त्र सरुवा भैसकेको जानकारी पाएको छु ।

हाम्रो गाउँमा २१ गते विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले भारतीय भूमि हुँदै घाट निरीक्षण गर्न आएका सरकारी प्रतिनिधिविरुद्ध नारा जुलुस गरे । जनतासहित सरकारी टोलीको प्रतिरोध गरे । राष्ट्रियताको सवालमा नेपालको समस्या बुझ्न भारतीय भूमि प्रयोग गरी सरकारी छानविन समितिले झारा टार्न खोजेको बुझियो । नेकपाका नेताहरुले रु ८ हजार पीडित परिवारलाई आर्थिक सहयोगसमेत गरे । तर, आजसम्म स्थानीय निकाय र सरकार बाट केही सहयोग भएको छैन ।’

गाउँपालिका अध्यक्ष अहिलेसम्म घटनास्थल पुगेनन्

घटनाबारे प्रारम्भिक अध्ययन गरी फर्किएका जनअधिकार अभियान नेपालका महासचिवसमेत रहेका अधिवक्ता सन्तोष कोइरालाका अनुसार साउन २४ गतेसम्म पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष घटनास्थलमा पुगेका छैनन् ।

घटनादेखि नै गाउँपालिका अध्यक्ष काठमाडौंमा रहेका छन् भने उपाध्यक्षको घर घटनास्थलबाट ६ घण्टाको पैदल दूरीमा छ । तर, उनीहरु दुबैजना अहिलेसम्म पनि घटनास्थलमा पुगेका छैनन् । गाउँपालिका अध्यक्षलाई फोन गर्दा पनि फोन नउठाएको अधिवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय