बारामा मंसिर ४ गते हुने निर्वाचनकाे स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो ।
सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।
बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा राेक लगाइएकाे छ । तर, यसकाे उल्लंघन गर्दै किसान र साेनलले शुक्रबार बिहान घरदैलाे कार्यक्रम गर्दै मत मागिरहेका छन् ।
यसबारे खबर पाएकाे प्रहरीले आचारसंहिता विपरीतका कार्य राेक्न बताएकाे छ । घरदैलाे कार्यक्रम भइरहेकाे जानकारी आएकाे बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए ।