
बारा क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यका उम्मेदवार एक बहादुर श्रेष्ठले जनताले एकपटक अवसर दिए काम गरेर देखाउने बताएका छन् । उनले विगतमा जनताले राजनीतिक दलका उम्मेदवारलाई निर्वाचित गरिसकेकाले अब स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे ।
श्रृष्ठले जनता, देश, किसानका लागि निरन्तर लागेकाले यसपटक आफूलाई जिताउन उनले आग्रह गरेका छन् । उनले भने, ‘निरन्तर देश र जनताको लागि संघर्ष गर्नेछु, एकपटक अवसर पाए जनतालाई अधिकार दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु । ’



उनले आफू निर्वाचित भए बारा क्षेत्र नम्बर १ (१) लाई नमूना क्षेत्र बनाउने दावी गरे । निर्वाचित भए यस क्षेत्रमा इञ्जिनियरिङ कलेज स्थापना, मेडिकल कलेज (अस्पताल) बनाउने, छाडा चौपाय व्यवस्थापनका लागि गौशाला निर्माण, किसानलाई सिंचाई, मलखादको व्यवस्था गर्ने उनको भनाइ छ ।
विगतमा निर्वाचित भएका राजनीतिक दलबाट उम्मेदवार भएका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेकोले जनताले अब स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने श्रेष्ठले बताए । आफू जेब्रा चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसारमा लागिपरेको र आफ्नो प्रतिष्पर्धा कसैसँग नभएको उनले बताए ।
आफू यसअघि एमालेमा रहेर राजनीतिक क्षेत्रमा क्रियाशिल भए पनि उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । उनले भने, ‘स्वतन्त्र उम्मेदवार निर्वाचित भए काम गरेर देखाउने कुरा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कामबाट प्रमाणित भएको छ ।’ जनताले नेताहरुको गरेको कामको मुल्यांकन निर्वाचनमार्फत गर्ने उनको भनाइ छ ।