बारा क्षेत्र नम्बर ४(क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ ।
सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन सत्ताको पावर देखाउँदै प्रहरी समेत परिचालन गरिएपछि केहिबेर सिमराको एक होटल क्षेत्र तनाबग्रस्त बनेको छ ।
आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली होटलमै पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरुलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसंग हिंड्न आग्रह गरेका थिए । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधाघण्टापछि होटलबाट फर्किएको थियो ।
सत्तारुढ दलका शिर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरी समेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन । रायमाझी नेपाली काँग्रेसमा आवद्ध थिइन ।