काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ७ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् ।
७ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।
तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् ।
सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।