काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् ।

मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ । उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया थाल्ने तयारी गरिएको बताइएको छ ।

कर्मचारी भर्नामा असहमति राखेपछि बोर्ड सदस्य एवं पदपूर्ति समिति संयोजकबाट दर्लामीलाई हटाएर उनको स्थानमा मन्त्रालयबाटै आफूनिकट सहसचिव तिरेशकुमार खत्रीलाई संयोजकका रूपमा लगेका छन् ।

खानेपानी संस्थानमा भएका अनियमितता र बद्मासी लयागतको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि केही समयअघि परेको थियो । अख्तियारले त्यसको छानबिन गर्न संस्थान नेतृत्वलाई लिखित पत्राचार गरे पनि अध्यक्ष गुणाखर भुसालले अख्तियारको निर्देशनको बेवास्ता गरेका छन् ।

भुसाल अहिले आफैं मन्त्रीको निर्देशनअनुसार ‘गलत कार्यमा संलग्न रहेकाले अख्तियारको निर्देशन बेवास्ता गरेको’ संस्थानका कर्मचारीको दाबी छ ।

खानेपानी संस्थानमा आफूनिकटका ४६ जना भर्ना गर्ने मन्त्री चौधरीको तयारी

पदपूर्ति समिति अध्यक्ष दर्लामीलाई हटाइएपछि समिति अर्का सदस्य खानेपानी मन्त्रालयकी प्रतिनिधि उपसचिव इन्द्रकुमारी थपलियाले अख्तियारमा उजुरी परेकाले आफू सो प्रक्रियामा ‘सहभागी नहुने’ भन्दै सदस्य पदबाट बाहिरिएकी छन् । उनी बाहिरिएपछि मन्त्री चौधरीकै योजनामा मन्त्रालयकै अर्का उपसचिव वशिष्ट नारायण घिमिरेलाई पदपूर्ति समिति सदस्यका रूपमा ल्याइएको छ ।

खानेपानीमन्त्री चौधरीले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै आफूनिकटकालाई भर्ती गर्ने गृहकार्य थालेपछि संस्थानभित्रै चर्को असन्तुष्टि देखिएको छ ।

१ चैत्र २०७८ मा संस्थानले १ तहदेखि ३ तहसम्मका लागि ४६ कर्मचारी आवश्यकतासम्बन्धी दरखास्त आह्वान गरेको थियो । सो सूचना प्रकाशनपछि १ हजार १ सय ५८ जनाले जागिरका लागि दरखास्त दिएका थिए । ती पदमा लिखित र मौखिक परीक्षाको औपचारिकता मात्रै पूरा गरिएको थियो । मन्त्री र उनीनिकटकाले छुट्टै सूची तयार गरी उनीहरूलाई मात्रै परीक्षामा उत्तीर्ण गराएर परिणाम तयारी गरिएको हो ।

नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले मन्त्री चौधरीको निर्देशनअनुसार तीन परीक्षाकेन्द्रमा ‘अनिवार्य पास गर्नुपर्ने व्यक्तिको लिस्ट’ नै पठाएका थिए । यसका लागि उनले मन्त्रीसँगको मिलिमतोमा परीक्षा समितिमा पनि आफूअनुकूलका व्यक्ति राखेका थिए । परीक्षामा हजारभन्दा बढी सहभागी भए पनि राम्रो गरेकाको पनि ‘सोर्सफोर्स’ नहुँदा नाम निस्कने सम्भावना कम रहेको बताइन्छ ।

लिखित तथा मौखिक परीक्षाको ‘नाटक’ मञ्चन गरेर आफन्त र कार्यकर्ता भर्ना गर्ने तयारी भएपछि खानेपानी बोर्डभित्र हल्लाखल्ला मच्चिन थालेको छ । परीक्षा भएलगत्तै नाम निकाल्नका लागि आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।

‘मन्त्रीका निकट तथा पैसा बुझाउन सक्नेलाई मात्रै उत्तीर्ण गराएको बुझिएको छ, त्यसैले अख्तियारबाट छानबिन हुन जरुरी छ,’ खानेपानी संस्थानका एक कर्मचारीले राजधानीसँग भने ।

यस विषयमा मन्त्री चौधरी र खानेपानी संस्थानका अध्यक्ष भुषालसँग पटकपटक कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

‘रिजल्ट आउनुअगावै नाम सार्वजनिक’

‘रिजल्टअगावै उत्तीर्ण हुने’ भन्दै आन्तरिक रूपमा सार्वजनिक भएपछि यो प्रक्रिया झनै विवादित बन्न पुगेको छ । त्यसैले यस विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गम्भीर छानबिन हुनुपर्ने माग खानेपानी संस्थान कर्मचारीले गरेका छन् ।

मन्त्री र उनीनिकटको ‘निगाहा’मा उत्तीर्ण गराउन लाग्नेमा आशिष चौधरी, त्रिपुरेश्वर चौधरी, धर्मराज चौधरी, रामविश्वास चौधरी, प्रदीपकुमार रजक, राहुल चौधरी, सञ्जय चौधरी, सुनिलकुमार थारू, गणेशबहादुर भण्डारी, रामप्रसाद हरिजन, मेघराज राना, अनिल विश्वकर्मा, गीता घिमिरे, मेनका चौधरी, सुमन थापा रहेका छन् ।

यसैगरी, मञ्जु अधिकारी, अमलेन्द्रकुमार यादव, दीपक चौधरी, सुष्मा झा, अर्चना अधिकारी धामी, विवेक चौधरी, तीर्थ थापा, समिर लामा, जयनारायण महतो, सुवास ठकुरी, मोतिलाल पुन, लक्ष्मीनारायण गडेरी, बैजु चौधरीलगायतलाई पनि ‘रिजल्टअगावै नियुक्ति लिन तयारी रहन’ भनिएको छ । उनीहरूमध्ये अधिकांश मन्त्री चौधरीका आफन्त तथा निकटका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय