रौतहट । गौर भन्सार कार्यालयबाटै दैनिक लाखौ मुल्य बराबरको तस्करीको सिण्डिकेट लाइन सञ्चालन भएको रहस्य खुलेको छ । सरकारले विभिन्न मालसमानहरुमा आयात गर्न प्रतिबन्ध लगाएपछी गौर भन्सार कार्यालयकै कर्मचारीहरुको मिलेमतोमा तस्करीको सिण्डिकेट सञ्चालनमा आएको हो ।
गौर भन्सार कार्यालयका नायब सुब्बा तथा प्रवक्ता अभिजित सिंह र कार्यालयका प्रमुख वाशु नेपालको मिलेमत्तोमा सिण्डिकेट सञ्चालन गर्न तस्करहरुलाई अनुमती दिएको श्रोतको दाबी रहेको छ । खाद्यान्न लगायत सय भन्दा बढी वस्तुहरुलाई आयात गर्न सरकारले प्रतिबन्ध लगाएपनी नासु सिंहले भन्सारबाटै तस्करी गराईरहेको श्रोतले दावी गरेको छ ।
तस्करहरुले भारतीय विभिन्न मालसमान भारतबाट कस्टम कटाएर सजिलै गौर भन्सारमा जम्मा गर्ने गर्छन र सोही मालसमान साझ बजार एरियामा रहेको एकान्तको गोदामसम्म ठेलागाडासम्म लग्ने गरेका छन् । भन्सारका नासु सिंहले अहिले रेडिमेड कपडाका लागि सिण्डिकेट सञ्चालनै गरी लाईन दिएको ति श्रोतको भनाई रहेको छ ।
गौर भन्सारमा कार्यरत कर्मचारीलाई प्रति पोका ८ हजार ५ सयको दरले खर्च तथा नायब सुब्बा सिंहलाई प्रति महिना कम्तिमा ४५ हजार पाउदै आएको बताईएको छ । यसमा भन्सारमा खटिएका सुरक्षाकर्मीलाई समेत मासिकरुपमा नजराना दिदै निर्धक्कका साथ तस्करी भईरहेको छ ।
भारतीय कस्टम बैरगनियाले विगत तीन महिनाको अवधीमा चार तीन सय भन्दा बढी रेडिमेड कपडाहरु नेपाल तर्फ निर्यात गरेको बताएपनी गौर भन्सार कार्यालयबाट एउटापनी आयात नहुँदा तस्करीको सिण्डिकेट सञ्चालन भएको जालो देखिएको छ ।
सरकारको राजस्व उठाउनु भन्दा पनी व्यक्तिगत राजस्व अठाउन पल्केका गौर भन्सारका नासु तथा प्रवक्ता सिंह विगत दुई वर्ष भन्दा बढी समय देखी जिल्लामै कार्यरत रहेका छन् ।
राजनीतिक पहुँच र रकमी चलखेलका कारण जिल्लामा टिकेका सिंह अहिले ढाटबाट दैनिक रुपमा असुल गरिएको रकममा हिस्सा तथा तस्करी लाईनबाट आएको रकम खादै आएका छन् ।