नेकपा एमाले बारा क्षेत्र नम्बर १ क समन्वय समितिको शनिबार बसेको बैठकले प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ क बाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरुको छनौट गर्न कोल्हबीको पर्सौनामा शनिबार भएको बैठकले प्रतक्ष्य र समानुपातिक निर्वाचनको लागि ८/८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतक्ष्यतर्फ एकबहादुर श्रेष्ठ, अम्बिका चौलगाई, रामकृष्ण घिमिरे, केवल चोधरी, ढुण्डिराज उप्रेती, त्रिलोकी चौधरी, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम सिफारिस गरेको हो भने समानुपातिकमा लिला खनाल लामिछाने, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय संयोजक रामजी बजगाईको अध्यक्षतामा भएको बैठकका एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीलगायतका नेताहरुले आगामी मंसिर ४ गते हुने संघीय र संसदीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी तुल्याउनुपर्ने कुरामा जोड दिएका थिए ।
त्यसैगरी संघीय संसदतर्फको उम्मेदवार छनौट गर्न आज कोल्हबीमा पार्टीको अर्को बैठक बस्ने भएको छ । बैठकले बारा क्षेत्र नम्बर १ को लागि पार्टीको तर्फबाट संघीय संसद सदस्यको उम्मेदवारको लागि १ महिलासहित २ पुरुषको नाम सिफारिस गर्ने बताइएको छ ।