वीरगन्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई पर्सा प्रहरीले वीरगन्ज बजारबाटै पक्राउ गर्यो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा शर्मा प्रहरीसँगै भनाभनमा उत्रिए । जब प्रहरीले पक्राउ गर्नाको कारण बतायो तब उनी अचम्मित भए ।

जतिसुकै सानो सजाय भए पनि त्यसलाई छलेर हिँड्न नसकिने रहेछ भन्नेमा संदेश पनि प्रहरीले दिन खोजेको बुभिन्छ ।

२६ वर्ष अगाडि भएको एउटा घटनामा अदालतले शर्मालाई ५० रुपैयाँ जरिवाना तोकिएको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत पर्साले २०५३ साल साउन ३२ गते सरकारवादी रहेको जुवा मुद्दामा शर्मालाई ५० रुपैयाँ जरिवाना तोकेको थियो । तर उनले जरिवाना नतिरी बसेका थिए ।

५० रुपैयाँ तिर्नका लागि पनि प्रहरीले आफूलाई पक्राउ नगर्नेमा उनी बिश्वस्त थिए । जरिवाना तोकेको २६ वर्ष बित्दासम्म वीरगन्जमै विभिन्न काम गर्दै आएका थिए ।

यस अवधिमा पर्सामा कयौँ प्रहरी नेतृत्व फेरियो, कयौँ अदालतका न्यायाधिश फेरिए । यत्तिका वर्ष बित्दा पनि अदालतले गरेको त्यो फैसलाले शर्मा पक्राउ पर्नबाट उम्किन सकेन्न ।
अदालतमा ५० रुपैयाँ जरिवाना बुझाएर उनी आइतबार नै छुटेका छन । अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाउने गरेको छ ।

प्रहरीले आइतबार शर्मा जस्तै विभिन्न मुद्दामा फैसला भएर फरार रहेका ८ जनालाई पक्राउ गरेर अदालत बुझाएको थियो । किर्तो जालसाजी मुद्धामा २०६९ साल भदौ १० गते २० रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १ की पानवा मलिन, कुटपिट मुद्धामा २०६३ मंसिर २१ गते २५० रुपैयाँ जरिवाना तोकिएको सोही वार्डकै मदन पण्डित, सार्वजनिक अपराधको मुद्धामा २०७२ चैत २५ गते २ सय रुपैयाँ जरिवाना तोकिएको जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

यस्तै लुटपाट मुद्दामा २०६७ पुस २९ गते ३ हजार ७ सय ६७ रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १ का पनमतीया देवी तुराहा, विदेशी विनिमय मुद्धामा २०७६ माघ ९ गते २९ हजार ९ सय ४८ रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज ६ का कामेश्वर साह कलवार, चेक अनादर मुद्धामा २०७७ चैत १९ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १६ का रामआशिष प्रसाद बरै र दुनियाँवादी फौजदारी मुद्धामा २०७८ मंसिर ६ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज ४ का कुन्दनकुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेर अदालत बुझाएको हो ।

प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन टोलीले २६ वर्ष पुरानो मुद्दाका साथै २० रुपैयाँ जरिवाना तोकिएका व्यक्तिसहित ८ जनालाई नगरका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार जिल्ला अदालत पर्सामा बुझाएको थियो । फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको आठै जना बिगो जरिवाना बुझाएर आइतबार नै छुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय