सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बिमाबाट बाराका किसान भने पीडित छन् । लाखौंको लगानी हुने खेतीको विमा गरेका किसानले विमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् ।
किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषी विमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन पाएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केराखेतीमा आकर्षित छन् ।
ठुलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि विमा गर्ने गरेका छन् । तर विमा कम्पनीको लापरवाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएतापनि त्यसको लाभ लिन नसकेको गुनासो बढन थालेको छ ।
निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरु होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफु खुसी विवरण तयार गर्ने गरेको खुलेको छ जसका कारण निजगढका पीडित केरा खेति गर्ने किसान चिन्तित बनेका छन ।
बारामा कृषी विमाका लागि राष्ट्रिय विमा समितिले हिमालयन जनरल ईन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त विमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ ।
इन्स्योरेन्सका शाखा प्रवन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ । ‘हामीलाई जानकारी नै नदिइ कर्मचारी आफुखुसि हाम्रो खोतबारीको विवरण संकलन गर्न आउने रहेछन’ स्थानीय अगुवा किसान गोविन्द खरेलले भने ‘धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगीएको छ उनीहरुले समेत भुक्तानी पाएका छैनन् ।’
खरेलका उनका अनुसार कर्मचारीले बिमा गरेका निजगढका करिव २४२ किसान मध्ये ४०/५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक बर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषी विमाबाट किसानले राहत महसुस गर्न सकेका छैनन् ।
विमा कम्पनीको कर्मचारीको लापरवाहीका कारण आफूहरु पीडित हुनु परेको भन्दै किसानले गर्न वर्ष विमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको विमा कार्यक्रम राम्रो भएपनि विमा कम्पनीको कर्मचारी गैरजिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाई छ ।
गत बैशाख १६ गते र त्यस यता पानीसंगै आएको हुरीले केराको बोट ढालेर ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ ।
हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा नष्ट गरेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए ।
निजगढमा केरा खेति गर्ने करिव ७ सय किसान मध्ये थोरैले मात्रै बिमा गरेको र बिमाबापतको रकम दिन समेत ईन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलााई दुःख दिदा समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन ।