जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । सपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र नगर प्रमुखबीच असहमति नभएपछि सपथ ग्रहण कार्यक्रम स्थगित भएको हो ।

नगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नैं कार्यकक्षमा सपथ ग्रहण गराउने तयारी गर्नुभएको थियो । तर, न्यायिक ईजलाश कक्ष भत्काएर बनाइएको नगर प्रमुखको कक्षमा सपथग्रहण गर्न कार्यपालिका सदस्यले अस्वीकार गरेका हुन् । नगरबासीलाई न्यायिक सेवा दिने ईजलाश भत्काएर बनाइएको कक्षमा नभई आफूहरुलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा सपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरुले प्रमुख पौडेलसंग आग्रह गरेका थिए । तर, नगर प्रमुख पौडेलले आफ्नो कक्ष बाहेक अन्यत्र गएर सपथ ग्रहण नगराउने अडान लिए ।

सपथ ग्रहण गराउने आफ्नों काम भएको र आफूले तयारी गरेकै स्थानमा सपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई नगर प्रमुख पौडेलले अनुरोध गरेका थिए । नगर प्रमुख पौडेलले आफ्नों कक्षभन्दा बाहिर गएर सपथ नखुवाउने बताएपछि कार्यपालिका सदस्य केही बेर आक्रोशित भएका थिए ।

दुबै पक्षले आफ्नों अडान नछाडेपछि सपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो । सपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टिकामणी न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

प्रमाण–पत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइए पनि उनी सहभागी हुन आएनन् ।

उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठजना उम्मेदवार निर्वाचित भएका थिए । निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी रहेका छन ।

यसैगरी दलित तथा अल्पसंख्यकतर्फ अर्जुन विक, प्रह्लाद साह सोनार र प्रभावती देवी पासवान निर्वाचित भएका थिए ।

कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार बिजयी हुदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको संख्या २२ पुगेको छ भने माओवादीको पाँच, कांग्रेसको पाँच, लोसपा र एकिकृत समाजवादीको एक–एकजना सदस्य रहेका छन ।

प्रमाण–पत्र वितरण कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले प्रदेश कमिटी सदस्य देवनरायण चौधरी, एमाले नेता मनोज पौडेल, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वडाध्यक्ष सुनिल गुप्ता, ताराबहादुर कार्की, धनबहादुर श्रेष्ठ, सुवाष श्रेष्ठ, श्यामबाबु खाँ, प्रशासन प्रमुख बालाराम खड्का, अधिकृत दुर्गा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय