धीरज निष्पक्ष/काठमाडौं । युवा स्वरोजगारकोषले सोमबार एकदिन मै करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करिब ५० करोड सम्बन्धित सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो ।
कोषले सहकारीसंस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो । सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारीसंस्थाका फाईललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाईल स्वीकृत भएको हो ।
सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्धस्तरबाट कामअघि बढाईरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।
कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्राकर्जाप्राप्त गर्दछन् ।