बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न नसक्ने हो भने कांग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताएका छन् । उनले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिंजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउँदै त्यसो गर्न नसके एमसीसीकै कारण कांग्रेसले चुनाव हार्न सक्ने बताए । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसिसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो’–कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले भने– ‘एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ ।’

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै गृहमन्त्री खाँणले एमसीसीबारेको भ्रम चिर्न नसके आगामी निर्वाचनमा कांग्रेसको पराजय हुने खतरा रहेको बताए । सञ्चारकर्मीहरुले पनि एमसीसीबारे सत्यतथ्य उजार गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको बताए ।

विद्युत प्रसारण लाईन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसीसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उनले दावी गरे ।

गृहमन्त्री खाँणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताए । ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ’–उनले भने ।

उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । ‘हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ’–गृहमन्त्री खाँणको भनाई छ ।

उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय