दमौली। काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले दमौली बजारमा लागेको आगो निभाउन थालेको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो ।
उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए ।
गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली गएको थियो ।
आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको थियो । दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ ।