अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।

तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।

बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेका थिए । सहमतिअनुसार यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको छ । गठबन्धनबीच बिहान १० बजे छलफल हुने बताइएको छ । आजको बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय