सिमरा । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बारा आएको सांसदको जम्बो टोलीले मंगलवार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षण गरेको छ । हवाईमार्ग हुदै सिमरा आएका सांसद, मन्त्रीको टोलीले टांगियाबस्तीलगायतका क्षेत्रको स्थलगत निरिक्षण गरेको हो ।

निरिक्षणका क्रममा पूर्वप्रधानमन्त्रीसहित मन्त्री र सांसदले टांगियाबस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रमलाई पूर्वप्रधानमन्त्री नेपालसहित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पर्यटनमन्त्री प्रेम आले, वनमन्त्री रामसहाय यादव, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, बाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, मधेस प्रदेशका वनमन्त्री शत्रुघन महतोलगायत विभिन्न सांसदले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा अधिकांशले निजगढ विमानस्थलको विकल्प नरहेको बताए । तर विमानस्थल निर्माणका क्रममा देखिएका समस्या समाधानका विषयमा भने कुनै नेताले स्पष्ट प्रतिक्रिया दिएनन् । पूर्वप्रधानमन्त्री नेपालले विमानस्थलको काम अघि बढाउन पर्यटनमन्त्री र वनमन्त्रीलाई आग्रह गरे । उनले बजेटको व्यवस्था अर्थमन्त्रीलाई र सहयोगी भूमिका खेलिदिन कांग्रेस नेता पौडेललाई आग्रह गरे ।

‘विमानस्थलसंग जोडिएको दुवै मन्त्रालयका मन्त्री यही हुनुहुन्छ । काम अगाडी बढाउन अनुरोध गर्दछु’ नेपालले भने ‘बटेजको व्यवस्था गरिदिन अर्थमन्त्रीलाई आग्रह गर्छु । विमानस्थल निर्माणलाई अघि बढाउन सहयोगी भूमिका खेल्न रामचन्द्र पौडेलजी पनि अनुरोध गर्छु । सबै मिलेर विमानस्थल बनाउनुपर्छ ।’

नेता नेपालले विमानस्थल बनाउने ईच्छाशक्ति अरुमा नदेखिएकाले आफै प्रधानमन्त्री भएर काम गर्न ईच्छुक रहेको बताए । ‘अरुले गर्दैनन्, आफै प्रधानमन्त्री हुनुपर्छ कि जस्तो मलाई लागिरहेको छ ‘ नेता नेपालले भने ।

कार्यक्रममा कांग्रेस नेता पौडेलले पनि स्थानियलाई आश्वस्त पार्न सकेनन् । विमानस्थलको विकल्प नरहेको बताउदै पौडेलले निर्माणमा अविलम्ब गर्न नहुने बताए । ‘अब धेरै सोच्नुपर्ने कुरा छैन्, छिटो भन्दा छिटो बनाउनुपर्छ’ पौडेलले भने ‘विमानस्थलका लागि यो ठाँउबाहेक अन्य विकल्प छैन् ।’

टांगियाको निरिक्षण गर्न दोस्रो पटक बारा आएका पर्यटन मन्त्री आलेले बजेटको व्यवस्था सरकारले गरिदिए काम अगाडी बढाउन आफू तयार रहेको बताए । उनले बजेटका लागि पहल गरिदिन मञ्चमा भएका नेताहरुलाई आग्रह गरे । ‘बजेटको व्यवस्था हुनेवित्तिकै काम सुरु हुन्छ । गुरुयोजना तयार भईसकेको छ’ आलेले भने ‘यहाँ उपस्थित नेताहरुलाई बजेटका लागि पहल गरिदिन आग्रह गछु ।’

वनमन्त्री रामसहाय यादवले पनि निजगढ विमानस्थल देशकै महत्वपूर्ण योजनाको रुपमा रहेको बताउदै यसको निर्माणमा ढिलाई गर्न नहुने बताउछन् । विमानस्थल आयोजनाका लागि टांगियाबासी बस्ती नै छोड्न तयार रहेको कुराले आफूलाई खुशी तुल्याएको भन्दै मन्त्री यादवले उचित व्यवस्थापन गरी काम सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले टांगियाबासीले विमानस्थलको योजनाका कारण भोग्नुपरेको पीडाका बिषयमा आफू जानकारी रहेको भन्दै यसको समस्या समाधानका लागि आफूले पनि पहल गर्ने बताए । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले टांगियाबासीको उचित व्यवस्थापन गरेर मात्रै विमानस्थल बन्ने घोषणा गरे ।

पाण्डेले घोषणा गरिरहदा टांगीयाबासीलाई कहाँ र कसरी व्यवस्थापन गर्ने विषयमा भने उल्लेख गरेनन् । उनले टांगियाबासीको स्थानियलाई स्नाकोत्तरसम्मको अध्ययन निःशुल्क गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताए । पाण्डेले यसो भनिरहदा मञ्चमा रहेका नेता नेपाल र मन्त्री आलेले त्यसरी थपेर नबोल्न आग्रह गरिरहेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले टांगियाबस्तीको स्थलगत निरिक्षण गर्न पहिलो पटक बाराको आएको र यस आयोजना निर्माणमा अब ढिलाई नगर्ने बताईन् । उनले लामो समयदेखी आयोजनाको विषयमा काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा मधेस प्रदेशका वन मन्त्री महतोले पनि विमानस्थलको कामलाई अब रोक्न नहुने बताए ।

कार्यक्रममा संघिय सांसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य, विकास समितिका सभापति, प्रदेश सांसद, स्थानिय जनप्रतिनिधि, विभिन्न दलका नेतालगायतको सहभागिता रहेको थियो । निरिक्षण गर्न काठमाण्ठौबाट मात्रै २८ जनाको टोली बारा आएको थियो । जम्बो टोली बारा आएपनि विमानस्थलका विषयमा लामो समयदेखी अन्यौलमा रहेका स्थानियले भने आश्वस्त हुने जवाफ पाएनन् ।

टांगियाको मुख्य बजारमा कार्यक्रम आयोजना भईरहदा स्थानिय भने निराश देखिएका थिए । स्थानियले भाषण धेरै पटक सुनेको र काम नभएका कारण नेताको बोलीमा बिश्वास नरहेको प्रतिक्रिया दिए । ‘यस्तो भाषण धेरै सन्यौ । यही भाषण सुनेर उमेर गईसक्यो’ स्थानिय महिलाले भनिन् ‘भाषण गरेजस्तै काम गरिदिए हामीलाई न्याय मिल्ने थियो । तर काम हुदैन् । ‘

स्थानियको तर्फबाट टांगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा, सचिव सुमन थोकर र जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य सुन्दर सुनारले स्थानियको पीडा र मागका विषयमा नेताहरुलाई जानकारी गराएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष केदारनाथ बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नमराज संजेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय