चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले नटआउट ७३ रन जोडे। उनले ५८ बलमा ८ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनरद्वय प्रदीप ऐरी ४ रन र आसिफ शेख १४ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउटको सिकार भएका थिए। यस्तै आरिफ शेखले २५ रनको योगदान दिए।

बलिङमा ओमानका कालीमुल्लाहले २ विकेट लिए।

अल अमरेत रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो।

ओमानका लागि कप्तान जीशन मक्सूदले सबैभन्दा बढी नटआउट ४३ रन जोडे। उनले ४१ बलमा ४ चौका र १ छक्का हिर्काए।

‌ओमानका ओपनरद्वय कश्यप प्रजापति ११ रन र जतिन्दर सिंह १३ रनमा आउट भए। प्रजापतिलाई अभिनास बोहराले बोल्ड गर्दा जतिन्दरलाई आरिफले आसिफ शेखबाट क्याच गराए।

यस्तै शोइब खानलाई ११ रनमा कप्तान सन्दीप लामिछाने र आयान खानलाई कमलसिंह ऐरीले ११ रनमै आउट गरे। दुवैको क्याच पनि आसिफले नै लिएका थिए।

मोहमद नदीमले ३१ रन र नदीम खुसी शून्यमा आउट भए। दुवैलाई अभिनासले १८ ओभरमा आउट गरे।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपालको राष्ट्रिय टिमका लागि पहिलो पटक कप्तानी गरेका सन्दीप लामिछानेले १ विकेट लिए। आरिफ शेख र कमलसिंह ऐरी १-१ विकेट लिए।

टी-२० मा डेब्यू गरेका सागर ढकालले विकेट लिन सकेनन्। उनले ३ ओभरमा ३६ रन खर्चिए।

सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ।

सिरिजलगत्तै नेपालले ओमानमै टी-२० विश्वकपको विश्व छनोट खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय