Death Body

काठमाडौं। विपद्का घटनाबाट पछिल्लो साढे नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाएका छन् । ती घटनामा ७५ जना बेपत्ता भएका छन् भने दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाख ०७८ देखि २३ माघ बिहानसम्ममा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।

पछिल्लो साढे नाै महिनामा देशभर तीन हजार एक सय ५९ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । पहिरो, बाढी, भारी बर्षा, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, महामारी, हिउँहुरी, हिउँपहिरो, भूकम्प लगायतका घटनाले उक्त क्षति गरेको हो ।

यसवर्षको सुरुवाती साढे नाै महिनामा पहिराेले सबैभन्दा बढी मानविय क्षति गरेको छ । पहिरोमा परी यो वर्ष एक सय ८० जनाले ज्यान गुमाएका छन् । यो वर्ष तीन सय ४० वटा पहिरोका घटना रेकर्ड भएका छन् ।

पहिरोपछि बाढीमा परी धेरैले ज्यान गुमाएका छन् । एक सय ५४ वटा बाढीका घटनामा ६३ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यो वर्ष तेस्रो ठूलो मानविय क्षति आगलागीका घटनाबाट भएको छ । एक हजार सात सय २० वटा आगलागीका घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो साढे नाै महिनामा भारी वर्षका कारण २२, चट्याङ्ग लागेर ५२, सर्पको टोकाइबाट २०, हावाहुरीमा परी तीन, जनावरको आक्रमणबाट ४०, महामारीका कारण चार (कोरोनाबाहेक), हिउँ हुरीका कारण चार, हिउँ पहिरोमा परी दुई, लेक लागेर दुई र डुङ्गा पल्टेर तीन जनाको मृत्यु भएको छ ।

२०७८ साल सुरू भएयता पहिरोमा परी ३३, बाढीमा परी ३४, डुङ्गा पल्टदा ६ र भारी वर्षा र हावाहुरीमा परी एक-एक जना बेपत्ता भएका छन् । विभिन्न किसिमका विपद्का घटनामा परी यस वर्ष एक हजार ६ सय ३५ जना घाइते भएका छन् । विपद्का घटनाबाट पाँच हजार एक सय सात परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । पछिल्लो साढे नाै महिनामा विपद्का घटनाबाट दुई अर्ब आठ करोड ३३ लाख ७४ हजार ६ सय २४ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जानकारी प्राधिकरणले दिएको छ ।

यसबर्ष आगलागीका एक हजार सात सय २० वटा घटना भएका छन् । ती घटनाले एक अर्ब ७७ करोड ४७ लाख १२ लाख एक सय ७४ रुपैयाँको आर्थिक क्षति गरेको छ ।आगलागीपछि ठूलो क्षति भारी वर्षाले गरेको छ । भारी बर्षाका कारण यो वर्ष १२ करोड ८४ लाख ७४ हजार एक सय २० रुपैयाँको आर्थिक क्षति भएकाे छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष पहिरोका कारण तीन करोड ४६ लाख ३५ हजार रुपैयाँ, बाढीका कारण ११ करोड ५३ लाख ९१ हजार पाँच सय रुपैयाँ, चट्याङ्गका कारण एक करोड ७० लाख ८१ हजार आठ सय ३० रुपैयाँ, हावाहुरीका कारण ६६ लाख ४४ हजार रुपैयाँ र जनावरको आक्रमणका कारण ५६ लाख ८६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय